ओखलढुंगा – जिल्लाको चम्पादेवी गाउँपालिका-३ को शिल्खुबेसीमा गाउँ माथिबाट आएको पहिरोका कारण लाखौँको क्षति भएको छ भने १६ घरपरिवार जोखिममा परेका छन्।
शनिबार दिउँसो परेको पानीसँगै पहिरो गएको हो। पहिरोका कारण ७ पशुचौपाया पुरिएर मरेको र १६ वटा घर तथा निर्माणाधीन अवस्थामा रहेको जलकन्या आधारभूत विद्यालयको भवनमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए।दिउँसोको समयमा पहिरो गएका कारण मानवीय क्षति भने हुन नपाएको पनि कट्टेलले बताए।पहिरोका कारण अति जोखिममा परेका ५ घर परिवारलाई छिमेकीको घरमा राखिएको छ।
केही महिनाअघि गाउँपालिकाको केन्द्र तप्केडाँडादेखि पीपलडाँडासम्म खनिएको सडककको कारण पहिरो आएको र उक्त पहिरोका कारण ५ घर अति जोखिममा रहेको बताइएको छ। ओखलढुंगाका ग्रामीण भेगमा जथाभावी खनिएका सडकका कारण पहिरो खस्दा बर्सेनि धनजनको क्षति हुने गरेको छ।