
वन्यजन्तुको सिकार खेल्ने क्रममा मोरङको केराबारीमा भरुवा बन्दुक पड्किएर बुधबार राति एकजनाको मृत्यु भएको छ । बन्दुकको छर्राले लागेर केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्त राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार हस्त गाउँकै साथीहरु गजेन्द्र राई र रुविन लिम्बूसँग रातको समयमा सिकार खेल्न स्थानीय बाघदले जंगलमा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बन्दुक पड्किएर बुधबार राति उनको घटनास्थलमै मृत्यु भएपनि घटनाका बारेमा प्रहरीले बिहीबार बिहान ९:३० बजेतिर मात्रै जानकारी पाएको थियो । मृग र बंदेलको सिकार गर्ने क्रममा बन्दुक पड्किएर साथीको मृत्यु भएको भन्दै गजेन्द्र र रुविन आफै इलाका प्रहरी कार्यालय केराबारीमा पुगेपछि घटना बाहिर आएको हो ।
दुवैजनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनीहरुले हस्त आफैले बोकेको बन्दुक पड्किएर घटना भएको प्रहरीलाई बताएका छन् । प्रहरीले घटनास्थलबाट एक नाल भरुवा बन्दुक पनि बरामद गरेको छ । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।