काठमाडौंको नागढुंगाबाट ४३ लाख नगद र ९ वटा तिलहरीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेक पोइन्टबाट दाङ तुलसीपुर उपमहानगरपालिका-५ का ३७ वर्षीय सन्दीप कौशललाई शनिबार प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।तुलसीपुरबाट काठमाडौं आएको प्रदेश नम्बर ३-०१-००-६ ख ०९१२ नम्बरको बसभित्रको प्यासेजमा टेपले र्यापिङ गरेको कार्टुन प्रहरीले फेला पारेको थियो।
कार्टुनभित्र प्रहरीले हेर्दा छड्के तिलहरीको पोते नौं वटा र ४३ लाख नगद फेला पारेको थियो। त्यसपछि प्रहरीले सो रकम र तिलहरीसहित कौशललाई पक्राउ गरेको हो। उनले उक्त रकमको स्रोत खुलाउन सकेका थिएनन्।
उनीमाथि महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ।