काठमाडौं – भक्तपुरबाट मानव बेचबिखन तथा ओसारपसार र बलात्कारमा संलग्न रहेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने सिन्धुलीको सुनकोसी गाउँपालिका–७ घर भएका २४ वर्षीय सरगम भनिने श्यामकुमार भट्टराई, गोकर्णेश्वर नगरपालिका–५, जोरपाटी बस्ने ५२ वर्षीय प्रकाश ढुंगेल, काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–१, गागालफेदी बस्ने ४७ वर्षीय राजकुमार सुनार, सिन्धुलीको ग्याङ्ग्ले गाउँपालिका–३ घर भएकी १९ वर्षीया मसेली भनिने सुहाना तामाङ र नुवाकोटको सूर्यगढी गाउँपालिका–४ घर भएकी ३१ वर्षीया मुना थापामगर रहेका छन् ।
पीडितका अभिभावकले आफ्नो छोरीलाई चैत १२ गते लिएर गएकी तामाङले भट्टराईसँग मिलेर माकलबारीमा फ्ल्याटमा राखी त्यहाँबाट होटेलमा पुर्याई ग्राहकसँग जबर्जस्ती करणी गर्न लगाएको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरु दुईजनालाई पक्राउ गरेको तथा थप अनुसन्धानको क्रममा पाथीभरा फेमिली कटेज एन्ड खाजा घर सुन्दरीजल होटेलमा बालिकामाथि बलात्कार गरेको खुलेपछि होटेल सञ्चालक ढुंगेल र थापामगर तथा जबर्जस्ती करणी गर्ने सुनारलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
सुहानाले युवतीहरुलाई काम लगाइदिने प्रलोभनमा पारी श्यामकुमारको सम्पर्कमा पुर्याउने र श्यामकुमारले विभिन्न प्रलोभनमा पारी होटेलमा पठाई जबर्जस्ती करणी गर्न बाध्य बनाउने तथा अनिच्छुकलाई धाकधम्की दिई भाग्न–उम्किन नदिई उक्त फ्ल्याटमा राख्ने गरेको र सोही क्रममा पीडितमध्येकी १६ वर्षीया किशोरी भाग्न सफल भई अभिभावकको सम्पर्कमा आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।