पछिल्लो २४ घण्टामा कैलाली, बर्दिया, रुपन्देही, बाँके र इलाममा डुबेर सातजनाको मृत्यु भएको छ ।
कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर–१४ बस्ने १५ वर्षीय आयुस चौधरीको सोही नगरपालिका–८, वनगाउँस्थित कर्णाली नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको छ ।कैलालीकै बर्दगोरीया गाउँपालिका–५, भुरुवा बस्ने लालसिंह कठरियाका ९ वर्षीय छोरा कैलाश कठरियाको सोही गाउँपालिका–४ स्थित काडा नदीमा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको छ ।बर्दियाको मधुवन नगरपालिका–२, ओराही खोलामा सोही ठाउँ कोठिया बस्ने बलबहादुर थापाका ५ वर्षीय छोरा पिन्स थापाको डुबेर मृत्यु भएको छ ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ बस्ने ४२ वर्षीय परमात्मा कुर्मीको खोलामा डुबेर मृत्यु भएको छ । सोही ठाउँस्थित डन्डा खोलामा नुहाउनेक्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्नेक्रममा शव फेला परेको हो ।रूपन्देहीकै लुम्बिनी साँस्कृतिक नगरपालिका–१२, आमागाउँस्थित पोखरीमा नुहाउनेक्रममा डुबेर सोही ठाउँ बस्ने शिवदयाल काहारका १२ वर्षीय छोरा कम्लेश काहारको मृत्यु भएको छ ।बाँकेको राप्तीसोनारी गाउँपालिका–५, चिलरीया बस्ने १९ वर्षीय दीपक वैश्यको स्थानीय बिनौनास्थित राप्ती नदीमा डुबेर मृत्यु भएको छ ।
इलाममा सिद्दिखोलास्थित निर्माणाधीन सिद्दीखोला हाइड्रोपावरको दहमा पौडी खेल्नेक्रममा डुबेर मोरङको विराटनगर महानगरपालिका–४ घर भई हाल झापाको अर्जुनधारा नगरपालिका–११, बिर्तामोड डेरा गरी बस्ने २३ वर्षीय दिवश खतिवडाको मृत्यु भएको प्रहरीले जनाएको छ ।