लन्डन – बेलायतका नेपाली यतिखेर आफ्नो पहिचान स्थापित गर्न सामूहिक रूपमा जुटेका छन् । यूकेका ४ राज्यमध्ये इंग्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा मार्च २१ मा हुने राष्ट्रिय जनगणनामार्फत् आफ्नो पहिचानका लागि बेलायतको नेपाली डायस्पोरा जुटेको हो ।
स्कटल्यान्डमा भने अर्को वर्ष सन् २०२२ मा मात्र जनगणना हुनेछ । बेलायतमा सन् १८०१ देखि सुरु गरिएको जनगणना हरेक १० वर्षमा हुन्छ ।जनगणनामा नेपाली सहभागिताका लागि सेन्टर फर नेपाल स्टडिज यूके, एनआरएनए यूके, ग्रेटर रसमोर नेपलिज कम्युनिटी यूके, एनआरएनए यूके इंग्ल्यान्ड र वेल्स राज्य समन्वय परिषद्, डार्टफोर्ड नेपाली समाज यूकेलगायत विभिन्न नेपाली संघसंस्थाले अभियान नै सुरु गरेका छन् जनगणना फारामको इथ्निक ग्रुप (जातीय समूह) भागमा ‘नेपाली’ र मुख्य भाषाको प्रश्नमा पनि ‘नेपाली’ नै लेख्न ती संघसंस्थाको अपिल छ । सेन्टर फर नेपाल स्टडिज यूके (सीएनएस यूके) का संस्थापक डा. कृष्ण अधिकारीका भनाइमा सेन्ससका धेरै विषयमध्ये नेपालीका लागि जातीय समूह (इथ्निक ग्रुप) पहिचान र भाषा अति महत्त्वपूर्ण छन् ।
पहिलो प्रश्नले बेलायतमा नेपाली मूलका मानिस कति छन् थाहा पाउन र सरकारले आफ्ना सहयोग कार्यक्रम एवं योजना बनाउन सघाउने अधिकारीले बताए । इंग्ल्यान्ड र वेल्समा मान्यता प्राप्त १८ वटा मुख्य जातीय (इथ्निक) समूह छन् । ‘हामी पनि मुख्य समूहमा दर्ता हुन र राष्ट्रिय रूपमा नेपालीको पहिचान हुने गरी प्रतिनिधित्व बढाउन चाहन्छौं,’ डा. अधिकारीले भने, ‘हाम्रो सामूहिक पहिचान नेपाली हो र सो नै लेख्नुपर्छ । त्योबाहेक अरू जस्तैः गोर्खा लेखेमा हाम्रो संख्या बाँडिन्छ । त्यसो भयो भने घाटा हामीलाई नै हुन्छ ।’जनगणनामा बेलायत सरकारले रैथाने पहिचान नेपालीलाई स्वीकार गरेर ‘नेप’ हान्नेबित्तिकै यही शब्द आउने अनलाइन व्यवस्था गरिदिएको जनाउँदै अधिकारीले नेपाली विवादरहित पहिचान रहेको बताए । बेलायतमा अहिले हजारौं संख्यामा वयोवृद्ध भूतपूर्व गोर्खा र तिनका परिवार बसोबासरत छन् । अधिकांश सरकारी सहयोग (पेन्सन क्रेडिट) मा आश्रित छन् । उनीहरूमध्ये कैयौं अंग्रेजी मात्र होइन, नेपाली भाषामा पनि निरक्षर छन् । स्थानीय काउन्सिलहरूलाई सार्वजनिक महत्त्वका सूचनाहरू नेपाली भाषामै प्रकाशित गर्न लगाउन पनि ‘मुख्य भाषा’ सेक्सनमा नेपाली नै लेख्न अधिकारीले आग्रह गरे । इंग्ल्यान्ड र वेल्सको जनगणना गर्ने अफिस फर नेसनल स्टाटिसटिक्स (ओएनएस) का सामुदायिक सल्लाहकार समीर गुरुङ अहिले नेपाली समुदायलाई जनगणनामा भाग लिन प्रेरित गरिरहेका छन् ।
जनगणना विवरणकै आधारमा स्थानीय तहले नीति निर्माण, बजेट, यातायात, स्वास्थ्य, शिक्षाजस्ता सेवामा आफ्नो योजना बनाउने भएकाले एक दशकमा आउने मौका नछुटाउन गुरुङको सल्लाह छ । जनगणनामा सहभागी नभए एक हजार पाउन्डसम्म जरिवाना लाग्नेछ । जनगणनामा नेपाली समुदायको यथार्थ विवरण आउन सके यसबाट नेपाली समुदायलाई बेलायतका स्थानीय काउन्सिल, स्वास्थ्य सेवा, शैक्षिक क्षेत्रलगायतबाट पर्याप्त सेवा उपलब्ध हुन सक्ने बताउँछन् नेपाल अध्ययन केन्द्र बेलायतका रिसर्च एसोसिएट नरेश खपांगीमगर ।‘सरकारले जारी गर्ने स्वास्थ्यलगायतका महत्त्वपूर्ण सूचनाहरू नेपाली भाषामा प्रकाशन हुनेछन् । विभिन्न निकायमा लिइने अभिलेखमा आफ्नो पहिचानमा नेपाली लेख्ने महल खडा हुन सक्नेछ । यसबाट हाल यूकेमा रहिरहेका नेपालीलाई मात्र होइन, भविष्यका नेपाली पुस्तालाई पनि फाइदा पुग्नेछ,’ मगरले भने ।
अहिले बेलायतमा करिब डेढदेखि दुई लाख नेपाली रहेको अनुमान छ । बेलायतमा सन् २०११ मा भएको जनगणनाअनुसार इंग्ल्यान्ड र वेल्समा ६० हजार २०२ र स्कटल्यान्डमा १ हजार २६८ जना नेपाली थिए ।