सप्तरी -चिकित्सक भन्छन्– कोरोना संक्रमण नघट्नु र जाडोयाम सुरु हुनुले नेपालीका लागि आगामी दिन झनै कष्टकर बन्ने देखिन्छ
अमेरिका तथा अधिकांश युरोपेली मुलुकमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर (सेकेन्ड वेभ) सुरु भइसकेको छ । केही दिनयता अमेरिका, भारत, ब्राजिल, रसिया, फ्रान्स, स्पेन, बेल्जियमलगायत मुलुकमा कोरोना संक्रमण तीव्र फैलिरहेको छ । गर्मी मौसममा संक्रमण नियन्त्रणमा आउने अनुमान गरिए पनि रोकिएन । जाडोयाम सुरु भएसँगै संक्रमण झन् बढ्न सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन् ।
महामारीको सुरुवातमा भएका केही अध्ययनअनुसार चिसो मौसममा कोभिड भाइरस हावामा सामान्यभन्दा बढी समय जीवित रहन सक्छ । संक्रमितबाट भाइरस वातावरणमा निस्किँदा चिसोका कारण लामो समयसम्म सजिलै बाँच्न सक्छ । विश्वका केही देशमा जाडो मौसम सुरु भइसकेको र अन्य भागमा सुरु हुने समय भएकाले विज्ञहरूले संक्रमण झन् बढ्ने अनुमान गरेका हुन् ।
नेपालमा पनि जाडो मौसम सुरु भइसकेको छ । काठमाडौंमा गत बुधबार वर्षकै बढी चिसो महसुस गरियो । एक दिनमै चार डिग्री सेल्सियसले तापक्रम घटेपछि चिसो महसुस गरिएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा बुधबार र बिहीबार ११ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । जुन यस वर्षकै सबैभन्दा कम तापक्रम हो । आइतबार उपत्यकाको न्यूनतम तापक्रम २७ डिग्री रह्यो । यो साताको बिहीबारसम्म तापक्रम घट्ने पूर्वानुमान गरिएको छ ।
मौसमविद् दीपक अर्याल विगतको वर्षभन्दा यस वर्ष छिट्टै चिसो सुरु भएको बताउँछन् । पश्चिमी वायु बढेकाले देशभरको तापक्रम घटेको र आगामी दिनमा यो क्रम जारी रहन सक्ने उनले अनुमान गरेका छन् । ‘पश्चिमी वायु चल्न थालेसँगै बुधबार स्वाट्टै तापक्रम घटेको छ । यो वर्ष अलि चाँडै जाडो सुरु हुन सक्ने संकेत देखिएको छ । हिमाली र उच्च पहाडी भेगमा हिमपात भएमा झन् चिसो बढ्न सक्छ, जुन निमोनियाको कारण बन्न सक्छ,’ उनी भन्छन्, ‘कोरोना संक्रमितलाई निमोनिया भए जोखिम झन् धेरै हुन्छ ।’
श्वास–प्रश्वास तथा फोक्सोसम्बन्धी रोगीका लागि जाडो मौसम अत्यन्तै कष्टकर मानिन्छ । भाइरस जाडोमा बढी सक्रिय हुने र शरीरमा भाइरससँग लड्ने रोगप्रतिरोधात्मक क्षमता पनि कम भएकाले भाइरसलाई जित्ने अवस्था हुँदैन । जाडोमा वृद्धवृद्धाको श्वासप्रश्वासमा समस्या बढ्दै जान्छ । यो समयमा भाइरस लोडसमेत बढी हुने भएकाले वृद्धवृद्धा र दीर्घरोगी यसको सिकार बन्न सक्छन् । जाडो नहोस् भनेर एउटै कोठामा बस्ने, झ्यालढोका लागाउने गरिन्छ, जुन स्वास्थ्यका हिसाबले घातक हुने चिकित्सकहरू बताउँछन् ।
सामान्यतः श्वासप्रश्वासमा असर पार्ने भाइरसहरू मौसममा भर पर्छन् । जस्तै, जाडोयाममा फ्लु मुख्य समस्याका रूपमा देखिन्छ । मौसम चिसो हुँदा स्वास्थ्यमा अन्य समस्या देखिने, भाइरस शरीरबाहिर र भित्र लामो समयसम्म बाँच्न सक्ने कारणले गर्दा जाडो मौसममा फ्लुले सताउने गर्छ । अध्ययनका अनुसार, सार्स कोभिड २, जसबाट कोभिड–१९ उत्पादन भएको थियो, यो भाइरस खोक्दा, हाछ्युँ गर्दा, कुराकानी गर्दा श्वासप्रश्वासको माध्यमबाट फैलिने गर्छ । जुन चिसो र सुक्खा मौसममा हावामा बढी समय बाँच्न सक्छ । सामान्यतः चिसो मौसममा पानीका कणहरू हावामा सजिलै रहन सक्छन् । संक्रमितको मुखबाट निस्केका ड्रपलेटहरू पनि हावामा लामो समयसम्म रहन्छन्, जुन सजिलै हावाको माध्यमबाट अर्को व्यक्तिमा सर्न सक्छ ।
निमोनियाविरुद्धको खोप लगाउन सल्लाह
देशभर हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ पुगेको छ । निको हुनेको दर ७६ दशमलब ९ प्रतिशत रहे पनि संक्रमितको संख्या पनि निकै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेमध्ये वृद्धवृद्धाको संख्या धेरै छ । तथ्यांक हेर्दा ६० वर्षमाथि उमेर समूहको मृत्यु धेरै देखिएको छ ।
चिकित्सकहरूका अनुसार दीर्घरोगी र वृद्धवृद्धा भएकै कारण उनीहरूको मृत्यु अन्य उमेर समूहको अनुपातमा बढी देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम वृद्धवृद्धा र दीर्घरोगीलाई जोगाउन स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न आग्रह गर्छन् । मौसम परिवर्तन भई जाडो सुरु भएको छ । यो समयमा मुख्य गरी दीर्घरोगी र वृद्धवृद्धा नै बढी जोखिममा परेको उनको भनाइ छ ।
सरुवा रोग विज्ञ तथा कोभिड चिकित्सक डा.अनुप बाँस्तोला जाडोयाम कोरोना संक्रमितका लागि घातक हुने बताउँछन् । ‘देशभर कोरोनाको संक्रमण बढ्दै जानु र चिसो मौसम पनि सुरु हुनुले आगामी दिन निकै चुनौतीपूर्ण बन्ने देखिन्छ,’ बाँस्तोला भन्छन् । यसबाट बच्न दीर्घरोगी र वृद्धवृद्धाले मौसमी रुघाखोकीको खोप लगाउनुपर्ने उनको भनाइ छ । ‘जाडोले गर्दा कोभिडको मुख्य सिकार वृद्धवृद्धा हुने पक्का छ, त्यसैले समयमै सकेसम्म निमोनियाविरुद्धको खोप (निमो कोकल) लगाउनुहोस्,’ उनी भन्छन् ।
श्वास–प्रश्वास तथा फोक्सोसम्बन्धी रोगीका लागि जाडो मौसम अत्यन्तै कष्टकर मानिन्छ । भाइरस जाडोमा बढी सक्रिय हुने र शरीरमा भाइरससँग लड्ने रोगप्रतिरोधात्मक क्षमता पनि कम हुने भएकाले भाइरसलाई जित्ने अवस्था नहुने चिकित्सकहरू बताउँछन् ।
इन्फ्लुएन्जाको खोप लगाएमा भाइरस र रुघाखोकीको जोखिमबाट बच्न धेरै मद्दत हुने चिकित्सकहरू बताउँछन् । चिकित्सकका अनुसार जाडो महिना सुरु हुनु एक महिनाअघि खोप लगाउँदा निमोनिया हुन पाउँदैन । दम, मुटु तथा मिर्गौला र सुगरका बिरामीले निमोनियाको खोप लगाउँदा राम्रो हुन्छ । प्रत्येक वर्ष एकपटक इन्फ्लुएन्जा खोप लगाएमा निमोनियालाई धेरै हदसम्म कम गर्न सकिने चिकित्सकहरू बताउँछन् । ६० वर्षमाथि उमेर समूहलाई निमोनियाविरुद्धको खोप दिइन्छ ।
कोभिड र मौसमी रुघाखोकीको
फरक कसरी थाहा पाउने ?
कोभिड र मौसमी फ्लुका अधिकांश लक्षण समान भएकाले पनि चिसो मौसममा छुट्याउन गाह्रो हुने चिकित्सकहरू बताउँछन् । जामा (जर्नल अफ दि अमेरिकन मेडिकल एसोसिएसन)ले प्रकाशित गरेको एक अध्ययनमा अस्पतालमा भर्ना भएका सामान्य, आइसियू र भेन्टिलेटरमा राखिएका कोभिड र फ्लुका बिरामीमा कुनै पनि भिन्नता नभेटिएको उल्लेख छ । अध्ययनअनुसार फ्लुभन्दा कोभिडका बिरामीमा ज्वरो, टाउको दुखाइ, रुघाखोकी, मांशपेसी दुखाइ, झाडापखाला, बान्ता, छाती दुखाइको समस्या बढी भएको पाइएको छ ।
डा. नवीन रौनियारका अनुसार कुनै पनि खानेकुराको स्वाद र गन्ध थाहा नपाउने, ज्वरो १०३ डिग्री आउने, खोकी सुरु भएको पाँचदेखि १० दिनमा श्वासप्रश्वासमा समस्या देखिन थाल्नु कोभिडका लक्षण हुन् । यस्तोवेला अत्यधिक थकान महसुस हुनु, सुक्खा खोकी लाग्ने, घाँटी दुख्ने, पखाला लाग्ने समस्या पनि हुन्छ । कोभिड संक्रमित व्यक्तिलाई तत्काल निको नभए पाँचदेखि सात दिनमा निमोनियाका लक्षण देखिन थाल्छ ।
कोभिड लागेको व्यक्तिलाई रातको समयमा सुत्दा श्वासप्रश्वासमा समस्या देखिन्छ । उनी भन्छन्, ‘पछिल्लो समय संक्रमितमा गम्भीर लक्षण देखिनेको संख्या बढ्न थालेको छ । दीर्घरोगी, ६० वर्ष उमेरभन्दा माथिका व्यक्ति, संक्रमणको जोखिममा रहने रगत समूह भएका व्यक्तिहरूलाई सघन उपचारको आवश्यकता पर्न थालेको छ । भाइरसले स्वास्थ्य अवस्था गम्भीर बनाउन मौसमले पनि उत्तिकै फरक पारिरहेको छ । चिसो बढ्दै जाँदा संक्रमितमा गम्भीर लक्षण देखिने सम्भावना बढ्दै गएको देखिन्छ ।’
फ्लुलाई बेवास्ता नगरौँ
कोभिडसँगै फ्लुको जोखिम पनि बढ्ने भएकाले अमेरिकी रोग तथा नियन्त्रण केन्द्र (सिडिसी)ले कोभिड र फ्लु कसरी थाहा पाउने भन्नेबारे मार्गनिर्देशन जारी गरेको छ । सिडिसीले कोभिडसँगै फ्लुको जोखिम बढे पनि कोभिड निश्चित जनसंख्या र उमेर समूह बढी संक्रामक रहेको बताएको छ ।
सिडिसीले आफ्नो वेबसाइटमा प्रकाशित गरेको जानकारीअनुसार, कोभिड फ्लुभन्दा छिटो फैलिने र सजिलै धेरै मानिसमा फैलिन सक्ने र समय बित्दै जाँदा मानिसहरूमा निरन्तर फैलिन सक्छ । डा. रौनियारका अनुसार, मौसमी रुघाखोकी लागेको व्यक्तिमा एक्कासि ज्वरो आउने समस्या हुन्छ, बेस्सरी टाउको दुख्ने, नाकबाट सिंगान बग्ने, हाछ्युँ आउने, शरीरका मांशपेसी दुख्ने, सुक्खा खोकी लाग्ने र घाँटी दुख्ने हुन्छ ।
कोभिड र अन्य फ्लुका लक्षण सामान्यतः उस्तै हुने भएकाले सजिलै छुट्याउन नसकिने बताउँछन्, डा. असरफ हुसेन । उनी भन्छन्, ‘कोभिड संक्रमितमा लक्षणहरू अलिकति गम्भीर हुन सक्छन्, जस्तै कोभिड संक्रमितमा खोकी बढी लाग्ने, उच्च ज्वरो आउने, गन्ध थाहा नपाउनेजस्ता लक्षणले गर्दा कोभिड शंका गर्न सकिन्छ । तर, कतिपय अवस्थामा लक्षण समान हुने र नदेखिने समेत हुँदा सामान्य फ्लुलाई पनि बेवास्ता गर्नु भने हुँदैन ।
फ्लुका लक्षण देखिएमा सकेसम्म आरडिटी वा पिसिआर परीक्षण गर्नुपर्ने हुन्छ, जसले गर्दा समयमै संक्रमण छुट्याउन र आवश्यक स्वास्थ्य सेवा लिन सकिन्छ ।’ उनका अनुसार जाडो मौसममा भाइरल इन्फेक्सन तुलनात्मक रूपमा बढी देखिन्छ । साथै फोक्सो, मुटु र मस्तिष्कसम्बन्धी समस्या बढ्ने जोखिमसमेत रहन्छ ।