काठमाडौं – पछिल्लो समय शिलान्यास र उद्घाटनमा व्यस्त देखिएका प्रधानमन्त्री केपी शर्मा ओली आज पुन: गृहजिल्ला झापा र मोरङ जाँदैछन् ।
विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा जान लागेका उनको सचिवालयले जनाएको छ ।दुई दिन अघिमात्रै प्रधानमन्त्री ओलीले झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गरेका थिए ।झापापछि सन्थाल जातिको एकीकृत बस्ती शिलान्यास गर्न उनी सिधै मोरङको उर्लाबारी जाने छन् । लोपोन्मुख एवं अल्पसंख्यक सन्थाल जातिका लागि उर्लाबारीको रातोहोली खोल्सी किनारमा निर्माण गर्न लागिएको एकीकृत बस्ती शिलान्यास गर्न प्रधानमन्त्री आज उर्लाबारी जान लागेका हुन् ।
एकीकृत सन्थाल बस्ती निर्माणको लागि मास्टर प्लान तयार भइसकेको छ । सहरी विकास मन्त्रालयले ३० करोड लागतमा रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कूल १३२ वटा घर निर्माण गर्न लागेको हो ।