सप्तरी – राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले राजविराज कारागारका एक महिलासहित १० जना कैदीलाई शुक्रबार रिहा गरेको छ ।
रिहा हुनेहरुमा सवारी ज्यानका सर्वाधिक पाँच जना छन् भने कर्तव्य ज्यानका तीन र डाँका खुनी तथा बहुविवाहका एक/एक जना छन् ।कारागार कार्यालय सप्तरी राजविराजका खरीदार सन्दिप देवका अनुसार सवारी ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका सप्तरीको रुपनी गाउँपालिका ५ का इसोहित हसन, छिन्नमस्ता गाउँपालिका ५ का गौतम शर्मा, खडक नगरपालिका ५ का सन्तोषकुमार साह, सुनसरीको इनरुवा ७ का रोशन थापा र सिरहाको कर्जनहा नगरपालिका ६ का सुरेन्द्र दास रिहा भएका छन् ।यस्तै कर्तव्य ज्यान मुद्दाका सर्लाहीको हंसपुर गाउँपालिका ५ की मन्जुदेवी यादव, सप्तरीको सप्तकोशी नगरपालिका ४ का कुमार बाँतर सरदार र बोदेबरसाइन नगरपालिका ४ का जितेन्द्र यादव रिहा भएका छन् ।
यस्तै डाँका खुनी मुद्दाका झापाको मेची नगरपालिका २ का समिर अली तथा बहुविवाह मुद्दाका बोदेबरसाइन नगरपालिका ९ का विद्यानाथ साह पनि रिहा भएका छन् । कम्तिमा ५० प्रतिशत कैद भुक्तानी गरिसकेका तथा राम्रो आचरण भएकाहरुलाई राष्ट्रपतिको सिफारिसमा बाँकी कैद मिनाह गरि रिहा गरिएको कारागार प्रशासनले जनाएको छ ।