सप्तरी – कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको गौरीगंगा नगरपालिका ५ अन्डैयामा पाटे बाघको आक्रमणबाट २५ वर्षिया कला धामीको मृत्यु भएको हो।
जंगलमा घाँस काट्न गएको बेला महिलालाई बाघले आक्रमण गरेर लगेको थियो। बाघले लगेको ठाउँभन्दा केही पर उनको शव फेलापरेको जिल्ला जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।
बाघले मान्छे मार्न थालेपछि क्यामरा ट्रयाकिङ गरेर सो बाघको खोजी सुरु भएको छ। माघ ३० गते शुक्रबार पाटे बाघले कैलारी गाउँपालिका–८ दुधियाका २८ बर्षे दुर्गाप्रसाद चौधरीमाथि आक्रमण गरेको थियो। सीताकुँवा सामुदायिक वनमा बाघसँग भएको जम्काभेटमा चौधरी घाइते भएका थिए। उनको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो।
कैलारी गाउँपालिकामा मान्छेलाई आक्रमण गरेर हराएको नरभक्षी पाटे बाघ शनिबार महेन्द्र राजमार्गमा देखिएको थियो।
‘अहिले बाघ कता छ भनेर पत्ता लगाउन वन क्षेत्रमा क्यामरा ट्रयापिङ गरिएको छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने, ‘बाघ भएको स्थान पत्ता लागेपछि नियन्त्रणको प्रयास हुनेछ।’
बोहराले केही दिनयता आफूहरु सो बाघको गतिविधिलाई गम्भीर रुपमा लिएको बताए।
हाल बाघले मान्छे मारेको स्थानमा खासै वन क्षेत्र नभएको डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामभन्द्र कँडेलले बताए। उनका अनुसार सो बाघ भारतको दुधुवा राष्ट्रिय निकञ्जबाट कैलाली आएको हुनसक्ने अनुमान गरिएको छ।