
काठमाडौं – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले वडा अधिवेशनको अवलोकन गरेका छन्। शुक्रबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका- ४ र सूर्यविनायक नगरपालिका-५ को वडा अधिवेशनको अवलोकन गरेका हुन्।
उनले पार्टीलाई वडा तहदेखि बलियो बनाउने गरी जनताको मन जित्ने काम गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अनुरोधसमेत गरेका छन्। उनले शुक्रबारदेखि सुरु हुने वडा अधिवेशनमा सहभागीलाई स्वागत तथा बधाई ज्ञापनसमेत गरेका छन्।उनले संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच महाधिवेशन सुरु गर्नु परेकोले सामाजिक दूरी कायम गरी सहभागी अनुरोध गरे। उनले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न आग्रह गरेका छन्।हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।
यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।