
बारामा यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
बिहीबार बिहान बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई नजिकै उक्त दुर्घटना भएको हो ।काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको ना ६ ख ४६४१ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भई प्रदेश ०३ ००१ प ४११ नम्बरको मोटरसाइकलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी बस चालक मकवानपुरको हेटौँडा कमाने निवासी ४९ वर्षीय धर्मराज रेग्मीको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
दुर्घटनामा परी मोटरसाइकल चालक हेटौंडाकै इन्द्रबहादुर कार्की गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेर घाइते भएका उनीसहित आठै जनाको हेटौंडामा उपचार भइरहेको मिश्रले बताए ।