२८ फाल्गुण २०८२, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ ११, २०७८

झापाको दमकस्थित पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको चियाबगानका मजदुर २४ दिनदेखि आन्दोलनमा छन् ।

तर, उनीहरूको माग अझै सम्बोधन भएको छैन । कोरोना महामारीको प्रभाव नगरी हिमालय–महालक्ष्मी चिया बगानका मजदुर काम छाडेर आन्दोलनमा उत्रिएका हुन् ।चिया बगानले मजदुरसँग मागेको भाका पूरा हुँदा पनि मजदुरलाई सेवा–सुविधा दिन सकेको छैन । पूर्वराजाको स्वामित्वमा रहेको यो बगान सोल्टी ग्रुपले व्यवस्थापन गर्दै आएको छ । सन् २०१९ बाट भने सोल्टीले मनोज अग्रवाल र सिद्धार्थ डेलिया नाम गरेका भारतीय व्यवसायीलाई बगान लिजमा सञ्चालन गर्न दिएको छ ।

पाउने सेवा–सुविधाका लागि बगान सञ्चालकले पटक–पटक समय मागे पनि सेवा सुविधा उपलब्ध नगराएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । भारतीयले बगान सञ्चालन गर्न थालेदेखि मजदुरले समयमा ज्यालासमेत पाउन छाडेका छन् । एक महिनाभन्दा धेरै समयसम्म काम गर्दा बल्ल–तल्ल १२ दिनको ज्याला दिने गरेको मजदुरको गुनासो छ ।‘पहिला हप्तैपिच्छे ज्यादा दिन्थ्यो । अहिले एक महिनाभन्दा धेरै काम गर्दा १२ दिनको पैसा दिन्छन् । यसरी कसरी व्यवहार चल्छ ? १५ दिनमा आठ हजार किस्ता तिर्नुपछ । ज्याला दिएको छैन भन्दा लघुवित्तले मान्दैन,’ मजदुर सन्तोष राईले भने, ‘कोरोना महामारीले फेरि लकडाउन भयो । पोहोर पनि कति भोकैपेट बसेका थियौँ । यसपटक पनि एक महिनादेखि ज्याला दिएको छैन । अब लकडाउन भयो झनै के देला र ? रोगभन्दा भोक प्यारो भयो । महामारीमा आन्दोलन गर्नुपर्‍याे ।’

बगानले मजदुरहरूको सञ्चय कोषबापतको रकम सात वर्षदेखि जम्मा गरेको छैन । मजदुरको ज्यालाबाट १० प्रतिशत कटाए पनि अहिलेसम्म रकम जम्मा गरेको छैन । यो अवधिमा सबै मजदुरको डेढ करोडभन्दा बढी सञ्चय कोषबापतको रकम जम्मा गर्न बगान बाँकी रहेको मजदुर कमलदीप विश्वकर्मा बताउँछन् । बगानमा लामो समय काम गरेर निवृत्त भएकाको उपदानबापतको पाँच लाख ३६ हजारभन्दा बढी रकम उपलब्ध गराउन मजदुरहरूले माग गरेका छन् । मान्छेको मृत्यु भइसक्दा पनि उपदानबापतको रकम नपाएको उनी बताउँछन् ।यस्तै, सरकारले श्रमिकको ज्याला बढाएको ०७५ साउन १ देखि चैत १६ गतेसम्मको बढेको ज्याला मजदुरहरूले अझै पाएका छैनन् । सरकारले बढाएको ज्याला माग गर्दै त्यसवेला मजदुरहरू आन्दोलनमा उत्रिएपछि बगान सञ्चालकले आन्दोलन अवधिको ज्याला उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

तर, अहिलेसम्म माग पूरा भएको छैन । गत वर्ष पनि पटक–पटक आन्दोलन गर्दै मजदुरहरू श्रम कार्यालयसम्म पुगेका थिए । श्रम कार्यालयमा मजदुरले निवेदन दर्ता गराएपछि लिजमा लिएर बगान सञ्चालन गर्दै आएका भारतीय सञ्चालकले अप्रिल १५ अर्थात् गत वैशाख २ गतेसम्म माग पूरा गर्ने म्याद राखेका थिए । त्यो समयमा माग पूरा गर्न नसके मजदुरले पाउने रकम भुक्तानी गरी बगान जिम्मा दिने सहमति भएको थियो । तर, सहमति कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रनु परेको मजदुरको गुनासो छ । २४ दिनदेखि आन्दोलनमा उत्रँदा पनि काम गरेको एक महिनाका ज्यालासमेत नपाएको मजदुर रोहित विश्वकर्माले बताए ।

वडाध्यक्ष राखेर मजदुर नेता र व्यवस्थापनको सहमति, तर मजदुरले मानेनन्
बगानमा मजदुर निरन्तर आन्दोलनमा उत्रिएपछि व्यवस्थापन पक्ष चियाबगान रहेको दमक– ४ र दमक– ९ का वडाध्यक्ष र मजदुर नेताले सहमति गरे । उनीहरूले सञ्चय कोषमा रकम तत्काल २५ लाख जम्मा गर्ने र बाँकी क्रमशः हाल्दै जाने, पारिश्रमिक समयमा दिने, मृत्यु भइसकेकाको किरिया खर्च अझै नपाएकाले त्यो उपलब्ध गराउनेलगायत सहमति भएको दमक– ४ का वडाध्यक्ष कुमार साम्सुहाङले बताए ।

तर, विगतदेखि भएका सहमति कार्यान्वयन नभएकाले मजदुरले आन्दोलन नरोकेको उनी बताउँछन् । ‘विगतमा पनि यस्ता सहमति धेरै भएका रहेछन् । तर, कार्यान्वयन नहुँदा मजदुर सशंकित छन् । अब मजदुरको माग पूरा गर्नुपर्छ,’ उनले भने, ‘बगानमा सबै खर्च कटाएर मासिक ६० लाखजति आम्दानी रहेछ । तर, मजदुरले नपाउँदा आन्दोलित भएका हुन् ।’

मेयर ओलीले वडासदस्यलाई मुद्दा हाल्ने धम्की दिए
मजदुर नेताले मजदुरको पक्षमा कुरा नउठाएकाे भन्दै बगानका पूर्वमजदुर तथा दमक– ९ का वडासदस्य नरेश सुनुवारलाई आन्दोलनमा मजदुरहरूले सहयोग मागे ।

केही दिन सुनुवारले सहयोग पनि गरे । तर, दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले बोलाएर थर्काएपछि भने उनी चुप लागे । उनलाई महामारीको समयमा मान्छे भेला गरेको भनेर मुद्दा लगाउनेसम्मको धम्की दिएको सुनुवारले बताए । ‘मलाई मेयर साबले अरूका अगाडि गाली गर्नुभयो । म यो कुरा पार्टीमा राख्छु । म पनि जनप्रतिनिधि हो । बगानमा पहिला काम गरेकाले त्यहाँको समस्या पनि थाहा छ,’ उनले मजदुरलाई भने, ‘तर, यस्तो वेलामा मजदुर उचालेको भनेर मेयर साबले मलाई मुद्दा हाल्छु भन्नुभयो । त्यही भएर म नआएको हुँ ।’

मेयर ओलीले मजदुरको समस्या नबुझी उल्टै कुरा उठाइदिने जनप्रतिनिधिलाई हप्काएको मजदुर इन्द्रकुमारी राई बताउँछिन् । ‘मेयर हामी मजदुरको हो कि मालिकको ? उहाँले हामीलाई के भएको हो आएर बुझ्नुपर्दैन ?’ उनले भनिन्, ‘हाम्रो कुरा उठाउनेलाई उल्टै धम्की दिने ? के हामीले हाम्रो सुविधा मागेर गल्ती गर्‍यौँ ?’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]