सप्तरी – म सनसेट हेर्न समुन्द्र किनारमा पल्टिरहेको थिएँ। म जस्ता अरू पनि थुप्रै मानिस त्यहीँ वरीपरी आ-आफ्नै सुरमा सूर्य अस्ताउने प्रतिक्षा गरिरहेका थिए।
मान्छे दिनहुँ दुई वटा कुराको प्रतिक्षा वेजोडले गर्छन्- उदाउँदो र अस्ताउँदो घाम।
बिहान सूर्य जन्मदाँ यसरी नै सारा आकाश धर्तीलाई लालीमा सम्मोहित गरेर निस्किन्छ भने साँझ अस्ताउँदा पनि यसरी नै लालीमा मन्त्रमुग्ध पार्दै विदा हुन्छ। सूर्यले उदाउँदा मात्र होइन, अस्ताउँदा पनि यो पृथ्वीलाई रोमाञ्चित पारेको हुन्छ।
यही रोचकतालाई अझ नजिकबाट निहाल्न मान्छेहरू समुन्द्र किनारमा पुगेका थिए। आधा शरीर डुबाएर उनीहरू परको क्षितिजलाई निहालिरहेका थिए। समुन्द्रको छालले ती मानिसलाई बगाएर अलि ओर ल्याउँथ्यो तर उनीहरू फेरि पौडिँदै झन् पर जान्थे। यो पनि कुनै रोचक दृश्यभन्दा कम थिएन। समुन्द्रको छाल त्यसरी झन् छछल्किएको देख्दा लाग्थ्यो हामी मात्रै होइन डुब्दै गरेको सूर्य हेर्न छाल पनि आतुर छ।
परबाट एउटा कालो कुकुर दौडिँदै आयो र मेरो वरिपरी हिँड्न थाल्यो। म झस्किएँ अनि ठूलै आवाजले आब्बुई!! भनेर डराएरै आँखा चिम्म गरेँ। सानोमा त्यस्तै कुकरले टोकेको थियो त्यसैले पनि अब यसले मलाई टोक्छ भन्ने भयो।
‘सासा, स्टप इट। आइ सेड स्टप..,’ भन्दै एक जना मान्छे पनि पछाडिबाट दौडिदै आए। मैले फरक्क फर्किएर हेरेँ। उसले मलाई ‘सरी, यसले टोक्दैन। खेल्न मात्रै खोजेको हो’ भन्यो।
हाँस्न मन नलागे पनि होर भन्दै जर्वजस्ती हाँसे।
सासालाई समातेर त्यो मान्छे सुमसुमाउन थाल्यो। ‘गो एण्ड से सरी’ भनेर कुकरलाई मतिर पठायो। किन पठाउनु पर्थ्यो होला, जस्तो लाग्यो। तर कुकुर ज्ञानी रहेछ। मेरो नजिक आएर अगाडिको खुट्टा पसारेर जिब्रो निकाल्दै मलाई हेर्यो। सायद उसलाई यसरी नै सरी भन्न लगाएको थियो होला। म हात कपाउँदै उसको शरीरमा हात राखेँ। त्यो मान्छेले ‘गिभ हर मसाज’ भनेर यसरी सुमसुमाउने भनेर सिकायो। मैले त्यसरी नै सुमसुमाएँ। सासाले आनन्द लिइन्।
त्यो मान्छेले सासालाई जाउँ भनेर बोलाउँदै थियो तर सासा त त्यहीँ मसँगै बसिरह्यो। एक इन्च पनि चलिन। ऊ पनि आँखा फैलाएर त्यही क्षितिजमा हेरिरह्यो। मलाई अचम्म लाग्यो अनि त्यो मान्छेलाई पनि।
‘क्यान आइ सिट हेयर?,’ उसले अप्ठ्यारो मानेर सोध्यो। अनि मैले पनि अप्ठ्यारो मानेर नै ‘हुन्छ’ भनेँ।
हाम्रो सबैको प्रतिक्षाको घडीलाई तोड्दै बादललाई पन्छ्याएर पलभरमै सूर्य सुन्तला रंगको फुटबल जसरी त्यो क्षितिजमा गएर टक्क अडियो। फोटो खिच्नेको लर्को लागिहाल्यो अनि म पनि यही लर्कोमा मिसिएँ।
देख्दा देख्दै सूर्य विस्तारै अर्को गाउँतिर लम्कियो। ठ्याक्कै आधा देखियो। यो दृश्य झन् स्वर्गीय थियो। त्यो क्षितिजबाट आएको किरणले समुन्द्रलाई जसरी कोहिनूरझै चम्काएको देखेँ ओहो! यो भन्दा पनि अरू कुनै शीतल अनुभव हुन्छ र भन्ने भयो।
आधा हुँदै हुँदै स्वाट्टै सूर्य डुविहाल्यो। यता ल पुग्यो भनेर बाई भन्दै सूर्य अब उता पारि हाइ भन्न जाँदै थियो। एकछिन बसिदिएको भए के जान्थ्यो र जस्तो लाग्यो। तर मन बुझाएँ म जस्तै कोही कतै अरू पनि सूर्य उदाउने प्रतिक्षामा होलान् भनेर।
सूर्य डुब्ने वित्तिक्कै त्यो मान्छेले टाउको हल्लाउँदै भन्यो– नाइस, रोमान्टिक देअथ। अर्थात् रोमान्टिक मृत्यु। उसले डुबेको घामलाई एउटा रोमान्टिक मृत्युको संज्ञा दिइरहेको थियो। उसले भनेको मैले सुनेँ तर पनि सोधेँ– सरी डिड आई हेअर समथिङ?
उसले हाँस्दै भन्यो– मे बी नथिङ।
अनि मैले पनि कुरो कोट्याइनँ।
त्यो दिन हामी दुवै अन्जान व्यक्ति तर सँगै बसेर डुबेको घामलाई हेरिरह्यौं एउटा प्रेमील जोडी जस्तो।
सूर्य डुबे पनि एकछिन आकाशमा बाँकि रहेको लालीसँग मन साट्न म त्यही नै पल्टिरहेँ। त्यो मान्छे पनि त्यही बस्यो। सासा पनि उठेन। सासालाई हामी दुवैले एकैपटक मुसार्न पुगेछौं। हामी दुवै हाँस्यौ।
सासालाई मुसारेपछि जुरूक्क उठिन्। म पनि त्यसरी नै उठे अनि उक्त मान्छे पनि।
उ फेरि लजाएर हाँस्यो म पनि त्यसरी नै हाँसे। यसरी हाँस्दा ऊ मलाई राम्रो लाग्यो। आखिर मनै त हो। मनले राम्रो भन्यो अनि हो, त्यही राम्रो लाग्यो।
मैले सुस्त उसलाई बाई भनेँ। उसले सुनेर हो कि नसुनेर केही भनेन। अनि म हातमा चप्पल लिएर बालुवामा विस्तारै पाइला चलाएँ। म भन्दा अघिअघि सासा दौडिरहेकी थिइन्। तर एक कदम मात्रै पछाडि उसले मेरो पाइलाहरु पछ्याइरहेको थियो। अघि त्यसरी दौडिदै सासाको पछि आउने त्यो मान्छे अघि अघि दौडिरहेको सासाको पछि दौडेन। बरू मेरो पाइलाको पछि चलिरहेको थियो। उसको विस्तारै मसँगै चलेको पाइलाले पनि बताइरहेको थियो म पनि उसको मनलाई राम्रो लागेको थियो। उसको पनि त मन हो। राम्रो लाग्यो अनि सुस्तै हिँडिदियो मसँगै। त्यसैले पनि त्यो चाललाई सहजै लिएँ।
मन खुशी थियो त्यो दिन। भर्खरै त्यस्तो रोमान्टिक सनसेट हेरेर आएको मेरो मन कठोर हुनै सकेन। त्यही सनसेटसँगै रोमान्टिक बन्दै थियो मन।
यो मन पनि विचित्रैको छ। यदि आजको दिन नहुँदो हो त कुनै अर्को दिन भएको भए वा मन वेचैन र तनाव भएको स्थिति भएको भए त्यही पाइलाको चाल कति जटिल लाग्थ्यो। कति झर्को लाग्थ्यो। ‘ओइ मिस्टर स्टाँकर’ भन्थेँ होला।
त्यो पाइलालाई घुरेर हेर्न मन लाग्थ्यो होला। त्यो पाइलालाई एक थपप्ड हानौं हानौं हुन्थ्यो होला। त्यो पाइलाई सत्तोसराप गर्न मन लाग्थ्यो होला। अति भएपछि पुलिस नै बोलाउँथेँ होला। तर त्यो दिन त्यो पाइला अझैँ एककदम बढे हुन्थ्यो जस्तो भयो। म मेरो र उसको पाइला गन्दै थिएँ। सायद ऊ पनि मेरो र उसको कदम गन्दै थियो होला।
कवि नवराज पराजुलीको कविताको एक अंश याद आयो। मैले मेरै भाकामा गुनगुनाएँ – तिमी यस्तो बेलामा आएको छौ कि तिमीलाई बस न भन्न मेरा ओठ डराउँछ, तिमी गएको हेर्न मेरा आँखा डराउँछ।
भर्खरै सनसेटको रोमान्सले भर्रभराएकी म अनि मेरो खालीखाली मन। उसको धिमेधिमे पाइला, लजाएको दुवैको मुस्कान र आँखा, वालुवाले लगाएको पैतालादेखि मनसम्मको काउकुती। यो पल कसरी पाप हुनसक्थ्यो होला। यो पललाई म कसरी तिरस्कार गर्न सक्थेँ होला। यो क्षणबाट म कसरी दौडिदै भाग्न सक्थेँ होला। यो पललाई मैले कसरी मबाट अलग्गाउन सक्थेँ होला।
सकिनँ मैले। उसले पनि सकेन। अब हाम्रो मन मनले कुरा गर्न थाल्यो। केही पाइला मात्रै हो। त्यसपछि त तिमी कहाँ म कहाँ।
आउ हात समातेर केही पाइला सँगै हिड्यौ।
पाइलासँगसँगै हाम्रो छायाँ पनि एउटै भयो। हाम्रो कुम कुम नजिक नजिक भयो। हातका रौं रौं जोडिन थाल्यो। रौं रौं पछि छालाहरु जोडिए। एकअर्काको अनुहारमा हेर्न सकेनौं। जे भइरहेछ त्यही हुन दियौं।
उसको र मेरो कान्छी औंला जोडिन थाल्यो। कान्छी औंलाले कान्छी औंला समातियो। त्यसपछि साँहिली, माहिलीहुँदै एकअर्काको हात समातियो। एकपछि अर्को याद जोडेको जोड्यै थियो हामी। एउटा सपनामा भेटेको र सपनामा नै हिँडिरहेको जस्तो भइरहेको थियो।
एकअर्कासँग अझैं बोलेनौं। केही नबोलि नबोलि एकछिन हामी त्यसरी नै मनमनै मुस्कुराउँदै हिडिरह्यौं। सासा हामीभन्दा पहिला नै पार्किङमा उसको गाडी अगाडि हामीलाई प्रतिक्षा गरिरहेकी थिइन्। हामी पार्किङ छेउमा आयौं। उसको कार पहिला लाइनमा थियो। ऊ त्यही अडियो। म पनि त्यही अड्किएँ।
उसले मेरो आँखामा हेर्यो मैले उसको आँखामा हेरेँ। एकछिन आँखैमा डुब्यौ। उसले आफ्नो ओठ मेरो ओठ नजिकै लिएर आयो। उसको श्वास र मेरो श्वास ठोकियो। मेरो ढुकढुकीले उसको ढुकढुकी र उसको ढुकढुकी मेरो ढुकढुकीलाई सुन्यो।
हामी दुवै त्यही नै रोकियौं। दुवै जना अव्यक्त भएर यही रोकियौं। दुवैको फेरि मन मिल्यो अनि रोकियौं। मन जोडिन पनि मिल्नुपर्छ। रोकिन पनि मिल्नुपर्छ। अनि तोडिन पनि मिल्नुपर्छ।
कस्तो मिठो अनि समझदारीमा मन रोकियो। यस्तो मिठो पूर्णविराम सायदै मेरो जीवनमा भएको थियो होला। अघिको त्यो सनसेट र अहिलेको यो सनसेट। दुवै प्रिय। दुवै रोमान्टिक।
म त्यहाँबाट गएपछि अब कतै उदाउनु थियो र ऊ पनि त्यहाँबाट गएपछि कतै उदाउनु थियो। हाम्रो छोटो तर मिठो भेट त्यही नै थियो।
‘सासा कम अन, गेट इन कार’ भन्दै उसले कारको ढोका खोल्यो।
‘नाइस मिटिङ’ भन्दै म त्यहाँबाट निस्किएँ। उसले मिठो मुस्कान दिएर ‘थ्याङ्कू, सेम हेयर’ भन्यो।
त्यो समयलाई त्यही छोडेर हामी अन्तै उदाउन हिँड्यौं।
त्यो दिन मलाई लाग्यो। प्रेमको रूप अनेक हुँदोरहेछ। प्रेम हुन प्रेमी नै चाहिँदो रहेनछ। प्रेम व्यक्तिसँग भन्दा पनि अनुभूतिसँग हुनेरहेछ। प्रेम आफैंसँग गरिने रहेछ। आफूलाई प्रेम गरेपछि बल्ल अरूको भावनालाई प्रेम गर्ने रहेछौं। त्यो दिन मैले म आफूलाई प्रेम गरेको थिएँ। त्यो दिन सनसेट हेरेपछि म ‘म’ भएको थिएँ। त्यो दिन त्यो व्यक्तिले पनि आफूलाई प्रेम गरेको थियो। ऊ ‘ऊ’ भएर डुब्दै गरेको घामलाई रोमान्टिक अवशान भनेको थियो।
हामी दुवैले आ आफू भएर आफूलाई नै त्यहाँ प्रेम गरेका थियौ अनि केही कदमलाई पनि त्यसरी नै प्रेम गरेका थियौं। हामी दुवैले हाम्रो अनुभूतिलाई केही क्षण प्रेम गर्यो, कुनै पाप गरेनौं।
यसरी केही पाइला सँगै हिँड्दा न ऊ मेरो नाफा भयो न घाटा। न ऊ मेरो जीत भयो न हार। न उसलाई पाउने रहर भयो न उसलाई गुमाउने पिर।
बिहानी र बेलुकीको सूर्यको लालीले सारा जगत पोतिदाँ जस्तो अनुभव हुन्छ त्यस्तै अनुभव भयो त्यो पाइला। वेमौसमी पानीमा निथुक्क भिजेर आँखा चिम्लदाँ र वर्षा रोकिएर आँखा खोल्दा देखेको त्यो इन्द्रेणीमामा जस्तो अनुभव हुन्छ त्यस्तै भयो त्यो दिन। त्यसैले त्यो भेट नाफामुक्त भयो। त्यो भेट घाटामुक्त भयो।