सिन्धुपाल्चोक – ‘सिआईडीको सई हुँ हिरासतमा परेकालाई छुटाउँछु’ भन्दै ठग्न खोज्ने सर्लाही लालबन्दी नगरपालिका– १५ देउरालीका ३१ वर्षीइ सुमन लामालाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ ।
जिल्ला प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतकाअनुसार लामाले लागूऔषध मुद्दामा बर्दिबास हिरासतमा परेका सुनकोसी गाउँपालिका–४ का रमेश राना मगरलाई छुटाइदिन्छु भनेर उनकी श्रीमतीलाई रकमसहित चौतारा साँगाचोकगढी नगरको सुकुटे बोलाएका थिए । ‘म सिआईडीको सई हो । श्रीमानलाई छुटाउने हो भने तीस हजार लिएर सुकुटे आउनु’ भनी लामाले मगरकी श्रीमतीलाई फोनमार्फत खबर गरेका थिए ।
बुधबार पैसा लिने हतारोमा सुकुटे आइपुगेका लामा खुबै उत्साही थिए । प्रहरीले विशेष सूचना पाएपछि सुकुटे क्षेत्रमा लामा एकाएक पक्रिए ।इलाका प्रहरी जलविरे र प्रहरी चौकी बलेफीबाट खटिएका सुरक्षाकर्मीले अपरेसन शैलीमा नियन्त्रणमा लिएका हुन् । ‘सुरक्षाकर्मीलाई बदनाम गर्न खोज्ने लामालाई जिल्ला अदालतबाट सात दिने म्याद अनुमति लिइ ठगी उद्योग मुद्दामा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ, ’ डीएसपी बस्नेतले भने ।