गोरखा – यो माघ, बिहेको लगनको महिना, धेरैले विधिवत रुपमा जीवन साथी पाउँदैछन्। यसपछि फागुन, बैशाख, मङ्सिर र अन्य महिनामा पनि धेरैको घरजम हुन्छ।
तर गोरखाको उत्तरी क्षेत्र, जहाँ दसैंमा मात्र विधिवत बिहे हुने गर्छ। परापूर्वकालदेखिको यो परम्परा विशेष गरी धार्चे गाउँपालिकाको वडा नं ४ लाप्राक, वडा नं. ३ उहिया, खोर्ला, वडा नं. ५ गुम्दा, यमगाउँ, लप्सीबोट, सिङ्ला, माछीखोला, वडा नं ७ लापु, लापुवेशी, खानीगाउँ खानीवेशी, भीरकुनालगायतका गाउँमा अहिले पनि प्रचलनमा छ।
‘मन मिलेपछि केटाले केटी त जहिल्यै पनि लान्छ तर रीतिथितिअनुसार दसैंको टीकाको दिनमा विधिवत रुपमा बिहे गर्नैपर्छ’, लाप्राकका ८३ वर्षका लालबीर गुरुङ भन्छन्, ‘यदि दसैंमा पनि सम्भव भएन भने कसैकसैले तिहारको टीकाको दिनमा पनि गर्छन्।’ दसैंको टीकाको दिनमा गाउँमा धेरै जोडीको बिहे हुने उनले बताए। सो दिनमा बिहे गरेपछि मात्र ती दम्पत्तिको बिहेले मान्यता पाउने उनले बताए।
एकै दिनमा धेरै जोडीको बिहे हुने हुँदा गाउँ नै बिहेमय हुने स्थानीयको भनाइ छ। ‘सबैको निम्तो मान्नैपर्छ। दिनभर एउटाको बिहेमा गएर मात्र भएन त्यसैले हामी एउटाको बिहेमा जन्ती जाने, अर्काको बिहेमा नाच्ने, अर्काकोमा गएर भोज खान्छौँ’, रोचक बिहेको सम्झना गर्दै स्थानीय जेसन गुरुङ भन्छन्।
यी गाउँहरुमा बोन धर्म मान्ने गुरुङ र घले समुदायको बसोबास छ।
गुरुङ समुदायको बाक्लो बसोबास रहेको धार्चे गाउँपालिका ४ लाप्राक गाउँ।
यहाँ प्राय प्रेमविवाह हुने गर्छ। ‘केटा र केटीको मन मिलेपछि केटाको बाबुआमाले आनापोम रक्सीको सगुन दिएर बिहेको प्रस्ताब राख्छन्’, अर्का ८१ वर्षका नन्दलाल गुरुङ भन्छन्, ‘केटीका बुबाआमाले रक्सीको पोम हात थापे भने विवाहको प्रस्ताब स्वीकार गरेको ठहर्छ। हात थापेनन् भने स्वीकार गरेनन् भनेर बुझ्नुपर्छ।’
केटा र केटीको मन मिल्यो भने बुबाआमाको सहमति नभए पनि बिहे हुन्छ। ‘बुबाआमाको सहमतिबिना केटाकेटीको मन मिलेर बिहे गरे पनि आउँदो दसैंमा रीत बुझाएर बिहे गर्नैपर्छ’, नन्दलाल गुरुङ भन्छन्, ‘देश विदेशमा गएका रहेछन् र पहिलो दसैंमा घर आउन मिलेन भने पनि कुनै न कुनै दसैंमा आएर रीत पुर्याउनै पर्छ। अहिलेसम्म रीत नपुर्याएको कसैको पनि छैन। सबैले पुर्याएकै छन्।’
दसैंको टीकाको दिनमा केटाको घर पक्षबाट केटीको माइतीपक्षको बुबा तथा मावलीका खलकलाई पुग्ने गरी रोटी, रक्सी र भेँडाबाख्राको फिला सगुन लाने र टीकाटाला गर्ने, भोज खाने चलन छ। त्यसपछि मात्र विवाहले मान्यता पाउने स्थानीयबासीको भनाइ छ। विवाहमा सकसपूर्ण दाइजोको भने चलन छैन ।