सप्तरी – पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा चिसोका कारण दुईजनाको मृत्यु भएको छ । दुइमध्ये एकको तानसेनस्थित बसपार्कमा र अर्काको तानसेन–गुल्मी सडकमा मृत्यु भएको हो ।
अर्घाखाँचीको छत्रकोट गाउँपालिका–४ घर भएका ५० वर्षीय गणेश परियार बसपार्कम बेहोस अवस्थामा भेटिएका थिए । उनको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।
तानसेन नगरपालिका–६ बसपार्कमा भित्तामा अढेस लागेर घोप्टो परेर बसिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बेहोस अवस्थामा रहेका उनलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
यसअघि शनिबारै तानसेन–४ बडिज्ञानटोलमा भाडामा बस्ने ३८ वर्षीय वसन्त गिरी मृत फेला परेका थिए। भारी बोर जीविका चलाउँदै आएका उनी शनिबार बिहान करिब ८ बजे तानसेन नगरपालिका–४ सिल्खानटोलस्थित तानसेन–गुल्मी सडकको भित्तामा घोप्टो परेको अवस्थामा भेटिएका थिए।
तानसेनमा लगातार दुई दिनसम्म वर्षा भइरहेको थियो। दुवैजनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हुन सक्ने आशंका छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।