काठमाडौँ – विद्धुतिय कारोबारको ठगीबाट जोगिन नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणका लागि सात बुँदे सुझाव सार्वजनिक गरेको छ। पछिल्लो समय विद्धुतिय कारोबारबाट ठगिएको गुनासो बढ्दै गएपछि बैङ्कले शुक्रवार सुझाव सार्वजनिक गरेको हो।
बैङ्कले सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैङ्कबाट फोन गरेको भनी इन्टरनेट बैङ्किङ अथवा मोबाइल बैङ्किङको युजरनेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठुलो रकमको चिट्ठा परेको भनी लोभ देखाई उक्त चिट्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैर कानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्ने लगायतका गतिविधिमार्फत ठगी भइरहेको उल्लेख गरेको छ।
, ओटिपि वा अन्य कुनै पनि संवेदनशील जानकारी नदिने, मोबाइल तथा अन्य डिभाइस एवम् एपका पासवर्डहरू बेलाबेलामा परिवर्तन गरिरहने, सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको ब्यहोरा अन्य माध्यमबाट यकिन गरेर मात्र रकम पठाउने लगायतका सुझाव दिएको छ।
राष्ट्र बैङ्कले दिएको सुझाव
१. सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैङ्कबाट फोन गरेको भनी इन्टरनेट बैङ्किङ अथवा मोबाइल बैङ्किङको युजरनेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठुलो रकमको चिट्ठा परेको भनी लोभ देखाई उक्त चिट्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैर कानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्ने लगायतका ठगी भइरहेको जानकारीमा आएकोले विद्युतीय कारोबार गर्दा यस प्रकारको ठगीबाट बच्न विशेष ध्यान दिनु जरुरी देखिन्छ।
२. अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटिपि वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनुहुँदैन। मोबाइल तथा अन्य डिभाइस एवम् एपका पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ । यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ।
३. सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको ब्यहोरा अन्य माध्यमबाट यकिन गरेर मात्र रकम पठाउनु पर्दछ।
४. अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्नुहुँदैन। यसरी अनधिकृत एप डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्छन्।
५. कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्यूआरकोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शङ्कास्पद रूपमा लिनुपर्दछ । रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआरकोड अथवा पासवर्ड पठाउन आवश्यक छैन।
६. कुनै पनि वेबसाइटमार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो/होइन यकिन गरेर मात्र कारोबार गर्नुपर्दछ। कुनै पनि वेबसाइटको ठेगाना एचटीटीपीएसबाट सुरु भएको छ भने सुरक्षित, भरपर्दो वा विश्वसनीय छ भन्ने बुझिने भएकोले एचटीटीपीएसबाट सुरु भए नभएको यकिन गर्नुपर्दछ।
७. विद्युतीय कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैङ्क तथा वित्तीय संस्था एवम् नेपाल राष्ट्र बैङ्कको गुनासो सुनुवारसम्बन्धी पोर्टल ‘gunaso.nrb. org.np’मा गुनासो वा उजुरी दर्ता गर्न सकिनेछ।