१८ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १९, २०७८

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। विगतमा मुख्य प्रतिस्पर्धी हुँदै आएका दुई दलबीच नै यसपटक पनि प्रतिस्पर्धा हुने उनीहरुको आकलन छ।

२०७४ सालको निर्वाचनमा काठमाडौं महानगरपालिकामा एमाले र राप्रपाको गठबन्धन बनेको थियो। एमालेले प्रमुख र राप्रपाले उपप्रमुख लिएर गठबन्धन गरेका थिए। प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य विजयी हुँदा सोही गठबन्धनबाट उपमेयरका उम्मेदवार राजाराम श्रेष्ठ भने पराजित भए।

प्रमुखमा जित निकाल्न नसकेको कांग्रेसले उपप्रमुखमा भने विजय प्राप्त गर्‍यो। मेयरमा एमालेका शाक्य ६४ हजार ९१३ मतसहित विजयी भएका थिए। त्यस्तै, उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाएका थिए। प्रमुखमा भिडेका शाक्य र जोशीको मतान्तर १९ हजार ४४४ थियो। तर, कांग्रेसबाट मेयरका प्रत्यासी पराजित हुँदा उक्त दलबाट उपप्रमुख उम्मेदवार हरिप्रभा खड्गीले ५८ हजार ९५२ सहित विजयी हासिल गरिन्।

गत निर्वाचनमा काठमाडौंको मतदाताको ट्रेन्ड हेर्दा एमालेले गरेको गठबन्धनप्रति मतदाताले रुचि देखाएनन्। कांग्रेसका मेयर पराजित हुँदा कांग्रेसबाट उपमेयरको उम्मेदवार बनेकी खड्गी विजयी भइन्। एमालेसँग गठबन्धन बनाएर राप्रपाबाट उपमेयरको उम्मेदवार बनेका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत प्राप्त गरी पराजय भोगे।

यसपटक २०७४ सालको जस्तै परिस्थिति छैन। एमालेले केही स्थानमा राप्रपासँग गठजोड गरेको थियो। कांग्रेस र माओवादी केन्द्रबीच सीमित स्थानमा तालमेल भएको थियो। तत्कालीन समयमा कांग्रेस र माओवादी केन्द्र सरकारमा समेत सँगै थिए। भरतपुर र पोखरा महानगरमा चुनावी गठबन्धन गरेका कांग्रेस र माओवादी केन्द्रले काठमाडौंमा भने समीकरण बनाएनन्।

सत्ताको नेतृत्वकर्ता दल कांग्रेससँग चुनावी समीकरण गर्ने पक्षमा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चा छन्। सत्ता गठबन्धनको छायाँ आसन्न निर्वाचनमा पनि अवश्य देखिनेछ। सत्तापक्ष एक आपसमा भिडेर एमालेका उम्मेदवारलाई जिताउन लाग्ने देखिँदैन। परिणामतः त्यसको प्रमुख लाभ कांग्रेसले लिनेछ।

प्रमुख शक्तिको रुपमा रहेको एमाले विभाजित छ। विभाजित एकीकृत समाजवादीमा सानै समूह रहे पनि एमालेलाई कमजोर बनाउने सामर्थ्य राख्छ। एमालेको मत विभाजित हुँदा त्यसको प्रत्यक्ष लाभ उठाउने कांग्रेसले नै हो। अर्कोतर्फ, पराजित हुने अवस्थामा उम्मेदवार खडा गर्नुभन्दा कांग्रेसकै उम्मेदवारलाई समर्थन गर्ने मनशाय माओवादी, एकीकृत समाजवादी तथा जसपामा हुनसक्छ। प्रमुख पद कांग्रेसलाई छोडेर अन्य पदमा भागबण्डा लिने उपाय उनीहरुका लागि फाइदाजनक हुनसक्छ।

माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनेका सर्वोत्तमदास डंगोलले ७ हजार ९०६ मत ल्याएका थिए। मेयरका प्रत्यासीमा उनले पाँचौ स्थानको मत ल्याएका थिए। उनले प्राप्त गरेको अधिकांश मत पनि गठबन्धनका साझा उम्मेरको पक्षमा खस्ने देखिन्छ। काठमाडौं महानगरपालिका कांग्रेस सभापति निलकाजी शाक्य भन्छन्, ‘काठमाडौं महानगरमा सत्ता गठबन्धनका अरुलाई जिताउने गरी तालेमल हुँदैन। मेयरमा उहाँहरुले कांग्रेसलाई समर्थन गरे गठबन्धन हुनसक्छ।’

काठमाडौंको सन्दर्भमा कांग्रेसका लागि अर्को लाभ नयाँ शक्तिका रुपमा उदाएका दलहरुको विभाजनले हुने देखिन्छ। २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा विवेकशील नेपाली दल र साझा पार्टीले मेयरमा सम्मानजनक मत ल्याएका थिए। रञ्जु न्यौपाने (रञ्जु दर्शना) ले विवेकशील नेपाली दलबाट २३ हजार ४३९ र किशोर थापाले साझा पार्टीबाट १८ हजार ४९६ मत प्राप्त गरेका थिए।

नयाँ दलप्रति उभार देखिएको उक्त समयमा कांग्रेसको नै मत बढी काटिएको विश्लेषण भएको थियो। ती दुई दल एकता भएर पनि विभाजन भएकाले मतदाताको उनीहरुप्रति अभिरुचि यसपटक देखिँदैन। विगतमा प्राप्त मत उनीहरुले प्राप्त गर्न नसक्दा परम्परा देखिकै शक्ति कांग्रेस र एमालेमा खस्छ। २०७४ सालमा कांग्रेसका मत बढी ती दलले काटेको भए स्वाभाविक रुपमा ती मतमध्ये अधिकांश कांग्रेसलाई खस्छ।

सत्ता पक्षकै अर्को शक्ति तत्कालीन नयाँ शक्ति पार्टी भएको छ। नयाँ शक्ति हाल जसपासँगै जोडिएको छ। तत्कालीन समयमा नयाँ शक्तिबाट मेयरमा उम्मेदवार बनेका पवित्र बज्राचार्यले ६ हजार ५० मत प्राप्त गरेका थिए। सत्ता गठबन्धनको साझा उम्मेदवार कांग्रेसबाट तय भएमा उनले प्राप्त गरेको अधिकांश मत पनि कांग्रेसलाई जानसक्छ।

एमालेमा आएको विभाजन, सत्ता गठबन्धनका अन्य दलले कांग्रेससँग तालमेल गर्नैपर्ने बाध्यकारी अवस्था, नयाँ शक्तिका रुपमा उदाएका दलको विभाजन लगायतले आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा कांग्रेसले जीत निकाल्ने आकलन गर्न सकिन्छ।

यसपटक कांग्रेसका लागि थप ‘प्लस पोइन्ट’ एमालेबाट विजयी मेयर शाक्यको असफलता पनि हो। एमालेको गठबन्धन सत्ताबाहिर रहेका अन्य दलसँग हुने सम्भावना रहेको छ। काठमाडौं महानगरपालिका एमाले अध्यक्ष निर्मल देउला भन्छन्, ‘हामी गठबन्धनको विरोधी होइनौं। सत्ता गठबन्धनका बाहेकका दलसँग चुनावी तालमेल गरेर प्रतिस्पर्धा गर्छौं।’

सत्ता गठबन्धनका अन्य शक्तिभन्दा काठमाडौंमा आफू बलियो रहेकाले कांग्रेसले मेयरमा अरुलाई छोड्ने देखिँदैन।

माओवादी, एकीकृत समाजवादी र जसपाको देशभर तालमेल हुने माओवादी केन्द्रका काठमाडौं महानगरपालिकाका अध्यक्ष रवीन्द्र श्रेष्ठ बताउँछन्। ‘काठमाडौं महानगरका बारेमा छलफल हुनै पाएको छैन। तीन दलको तालमेल अवश्य हुन्छ। कांग्रेससँग पनि छलफल गरेर टुंगिन्छ’, श्रेष्ठले भने।

यस्तो थियो २०७४ सालमा प्राप्त मत :
प्रमुख
विद्यासुन्दर शाक्य- नेकपा एमाले– ६४९१३ ( विजयी)
राजु राज जोशी- नेपाली कांग्रेस– ४५२६९
रञ्जु न्यौपाने (रञ्जु दर्शना)- विवेकशील नेपाली दल– २३४३९
किशोर थापा- साझा पार्टी– १८४९६
सर्वोत्तम दास डंगोल – माओवादी केन्द्र– ७९०६
पवित्र बज्राचार्य – नयाँ शक्ति पार्टी, नेपाल– ६०५०

उपप्रमुख
हरिप्रभा खड्गी- नेपाली कांग्रेस– ५८९५२ ( विजयी)
राजाराम श्रेष्ठ- राष्ट्रिय प्रजातन्त्र पार्टी– ३४८५४
निरुपमा यादव- साझा पार्टी– ११५३३
सुशीला कुमारी पौडेल- नेकपा माओवादी केन्द्र– १०४४८
सविना अर्याल- नयाँ शक्ति नेपाल– ३४९३

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]