सप्तरी – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) विरुद्ध विद्यार्थीले जनकपुरधाममा प्रदर्शन जारी राखेका छन् । परीक्षा स्थगित गरेको विरोधमा विद्यार्थीले दोस्रो दिन पनि प्रदर्शन गरेका हुन् ।
उनीहरुले वैकल्पिक विधिबाट परीक्षा हुनुपर्ने अथवा भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना गरी परीक्षा सञ्चालन गर्नुपर्ने, नभए आन्तरिक मूल्यांकनद्वारा नतिजा प्रकाशन गर्नुपर्ने माग गरेका छन् ।
सीटीईभीटीले विद्यार्थीको जीवनसँग खेलबाड गर्न नपाउने र समयमै परीक्षा हुनुपर्ने उनीहरूको माग छ । ३ वर्षको कोर्सलाई ५ वर्षसम्म पुर्याउनका लागि पटक–पटक परीक्षा स्थगित भइरहेको उनीहरूको आरोप छ ।
प्रदर्शनको क्रममा विद्यार्थीहरुले सडक अवरुद्ध गरी चक्काजाम गर्न खोज्दा स्थानीय मुरलीचोकमा प्रहरीले उनीहरूमाथि सामान्य बल प्रयोगसमेत गरेको थियो ।
कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको र परीक्षार्थीहरूको संख्या पनि बढी भएकोले सीटीईभीटीले परीक्षा स्थगित गरेको थियो । परिषद्ले माघ १५ गते बायोमेडिकलतर्फको प्रवेश परीक्षा र माघ २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो ।
परिषद्ले माघ २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रमअन्तर्गतका नियमित तथा पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।