सप्तरी – कोरोना महामारीमा सबैभन्दा बढी असरमा परेको होटल तथा रेष्टुरेन्ट व्यवसाय हो । कोरोना महामारीको पछिल्लो भेरियन्ट बढेसँगै होटल तथा रेष्टुरेन्टको व्यापार झन सुस्ताएको हो । व्यापार व्यवसाय सुस्ताउँदै गएपछि कतिपय व्यवसायीहरुले घाटा व्यहोरेर होटल तथा रेष्टुरेन्टहरु बेचिरहेको रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान)का अध्यक्ष अरनिको राजभण्डारी बताउँछन् ।
उनी भन्छन्, ‘महामारीका कारण व्यापार सुस्ताउँदै गएपछि केही व्यवसायीहरुले होटल तथा रेष्टुरेन्ट बेचेका छन् । ठमेल क्षेत्रमा नै धेरै असर परेकोले यहाँका धेरैजसो एरियाहरुमा व्यवसाय बेचेको भन्ने पाइएको छ ।’
सरकारले पनि पुनर्कर्जा दिए पनि साना व्यवसायीहरुले नपाएका कारण व्यवसायीहरु झन् मारमा परेको उनले बताए । उनले भने, ‘सरकारले व्यवसायीहरुलाई पुनर्कर्जा दिए पनि साना व्यवसायीको पहुँच नपुगेका कारण उनीहरु झन् थप मारमा परे । व्यवसाय नै बेच्नुपर्ने अवस्था आएको छ । विकल्प नै नभेटे पछि कति व्यवसायीहरुले आत्महत्या नै गरे ।’
राजभण्डारीका अनुसार कर्मचारीलाई तलव दिनै पर्यो घरबहाल तिर्नु पर्यो, अझै ९५ प्रतिशत व्यवसायीहरु घरभाडा तिर्न नसकक्ने अबस्थामा पुगेका छन् । घरबेटीले घर खाली गर्न लगाउँछन् । कतिपय व्यवसायीहरुले व्यवसाय सुरु गर्न नपाइ लगानी सबै डुब्यो । एउटा रेष्टुरेण्ट खोल्न लागेको खर्च र फेरी हटाउनु परेपछि त्यहाँको सामान केही काम लाग्दैन नयाँ डेकोरेसन गर्नुपर्ने हुन्छ ।’
उनका अनुसार कतिपय ठाउँमा त व्यवसाय सुरु गर्न लगानी गर्दा गर्दै ऋण झन् बढी तिर्नुपर्ने भइसकेको हुन्छ । एक अर्काको अवस्था हेरेर पनि ऋण गरेरै भएपनि व्यवसाय टिकाउन लाग्दा झने ऋणमा डुब्दै गएका छन् । सबैभन्दा पीडित व्यवसायीहरु ठमेल क्षेत्रमा रहेको उनले बताए ।
यसअघिको लकडाउनमा धेरै नोक्सानी व्यहोर्नू परेको भएपनि यस पटक भने सरकारले पुरै लकडाउन नगरी स्मार्ट लकडाउन गरेका कारण थोरै भएपनि राहत मिलेको उनले बताए । उनी भन्छन्, ‘नाफा नभएपनि नोक्सान पनि धेरैव्यहोर्नु परेको छैन । पुराना व्यवसायीहरुले पहिले कमाएको सञ्चित पैसा पनि सकिसकेका छन् । एउटै व्यवसाय बाट १ करोडभन्दा बढी घाटा व्यहोर्न पर्ने अबस्था आइसकेको छ । तर होटल व्यवसाय सुरु गरेका नयाँ व्यापारीहरुले भने अब यो व्यवसायमा हात नै हाल्दैनन् ।’
राजभण्डारीका अनुसार पहिलेदेखि नै व्यवसाय सञ्चालन गरिरहेको ठाउँछोड्न हानाथाप हुने गरेको छ । उनी भन्छन्, ‘चलिसकेको ठाउँ छोड्न सकिदैन । केही समयमा सहज होला भनेरबस्दा बस्दै व्यवसाय झन् बिजोक भएको छ । कर्मचारी पाल्न सकेका छैनौ । उनीहरुलाई छोडेर जाओ भन्न नी सकिदैन राख्न पनि खल्ती रित्तो भैसको कसरी तलव दिएर राख्ने उनीहरुको पनि व्यवहार हेर्नुपर्ने हुन्छ ।’
कोरोना महामारीले ठूलो प्रशोधन उद्योगहरुलाई भने खासै असर नपरेको उनी बताउँछन् । राजभण्डारी भन्छन्, ‘ लकडाउनले साना व्यवसायीलाई मात्र धेरै असर गरेको ठुलो प्रशोधन उद्योगहरुलाई खासै असर परेको छैन । व्यवसायच चलेमा सरकारलाई नै फाइदा हुने हो । एकदुई वटा व्यवसाय डुब्दैमा माथि उठ्न नसक्ने भन्ने हुँदैन तर सबै व्यवसाय डुबे भने राज्यले पनि ठुलो क्षति व्यहार्ने छ ।’
उनका अनुसार पहिले यो व्यवसाय राम्रो चलेको देखेर यहि व्यवसायमा लाग्नेहरु धेरै छन् । त्यस तर्फ पनि सरकारले ध्यान दिनुपर्ने हुन्छ । तर बैंकहरुको ब्याजले गर्दा व्यवसायीहरु धेरै मारमा परेको उनले बताए ।
उनी भन्छन्, ‘बैंकबाट ऋण लिएर व्यवसाय गरेकाहरुलाई बैंकले ब्याज बढाएपछि झन् समस्या भएको छ । एकातिर आम्दानी छैन अर्को तर्फ बैंकले ब्याज बढाइरहन्छ । पहिले धेरै व्यापारीहरु नेपाल मै बसेर केहि गर्नसकिन्छ भन्ने अवस्था थियो । तर यस्तो अवस्था सिर्जना भएपछि धेरै जसो व्यापारीहरु नै बैदशिक रोजगारीमा जानुपर्ने अवस्था आएको छ ।’ त्यस्तै लकडाउनले होटल व्यवसाय सञ्चालन गरेर बसेका व्यापारीहरुलाई बैदेशिक रोजगारीमा जान बाध्य बनाएको राजभण्डारीले सुनाए ।
यस अवधिमा बैंकको ब्याज तिर्न नसक्नुका साथै घरबेटीसँग पनि धेरै समस्या भएको उनले बताए । उनले भने, ‘बैंकको ब्याज तिर्न समस्या त छदै छ । यता घरबेटी सँग ५/६ वर्षका लागि सम्झौता गरेको हुन्छ । व्यवसाय सुरु नगर्दै दुई तीन वर्षको सम्झौता सक्सिकेको हुन्छ । सम्झौता थप गरिदिदैनन् । घरबेटीले व्यवहारिक समस्या बुझेनन् ।’
यस्तो भयावह स्थितिको कसैले कल्पना गरेको थिएन उनले निराश हुदै दुखेसो पोखे । घरभाडा बढाएर दिन्छौ भन्दा पनि घरबेटीले व्यवसायीहरुको समस्या बुझेनन् । घरभाडा बढाएर भएपनि सम्झौता थप गरिदिए हुन्थ्यो फेरी रेष्टुरेन्ट सार्नु परेपछि पहिलेको सामान र डेकोरेसन नयाँ ठाउँमा काम लाग्दैन । समस्या झन् थपिदै जान्छ उनले भने ।
उनका अनुसार घरबेटी र व्यवसायीबीच मनमुटाव हुँदा कतिपयले मुद्दा समेत गर्नुपर्यो । घरबहालवालाहरुमा व्यवसायीहरुसँगै घरबेटी पनि डुब्छन् भन्ने मनसाय परिसकेको उनले बताए ।
ठूला ठूला होटल तथा रेष्टुरेन्टहरुलाई बैंकले नै पहल गरेर पुनर्कर्जा दिए पनि साना व्यवसायीहरुको पहँच नपुग्दा झन् मारमा परेको उनले गुनासो गरे । उनी भन्छन्, ‘बैंकहरुले ब्याज छुट पनि गरिदिएनन् । पुनर्कर्जा दिने निति ल्याए पनि केही व्यवसायीहरुले बाहेक अरुले पुनर्कर्जा पनि पाएका छैनन् । ठूला होटलहरुलाई बैैकहले नै पहल गरिदिएर पुनर्कर्जा दियो ।’
साना व्यवसायीहरुका लागि परिस्थिति सहज भइपछि सरकारले केही पहल गर्नुपर्ने उनले बताए । उनी भन्छन्, ‘राजनीतिकर्मीहरुले मेलाको आयोजना गर्दाथोरै भएपनि होटल व्यवसायहरु चलायमान भएका थिए । आन्तरिक पर्यटकहरुलाई पनि चलायमान गर्न सक्यो भने साना होटल व्यवसायीहरुलाई पनि केही राहत मिल्ने थियो । सरकारले साना व्यवसायीका लागि पनि केही पहल गर्नुपर्छ ।’
यो अवस्थामा व्यापार व्यवसायलाई टिकाउनका लागि सरकारले बैंकको व्याज दुई तीन वर्षमा तिर्न पाउने केही व्यवस्था गरिदिए हुन्थ्यो भन्ने अपेक्षा राखेको उनी बताउँछन् । उनी भन्छन्, ‘बैंकहरुको ऋण तिर्ने समय दुई तीन बर्षपछि धकेलिदिए । ऋण तीर्ने बाटो केही खोज्न सकिने थियो । आर्थिक अवस्थालाई पनि मध्यनजर गर्न सकिने थियो । यो अवस्थामा कसरी अघि बढ्ने भनेर सरकारले केही मध्यस्थता गरिदिए हुन्थ्यो ।’
व्यापार व्यवसाय सुस्ताएको यस्तो अवस्थामा पनि बैंकहरुले नाफा कमाइरहेको बेला हामी व्यवसायीहलाई पनि केही सहुलियत दिए आर्थिक विकासको सन्तुलनलाई कायम राख्न सकिने उनी बताउँछन् ।
उनी भन्छन्, ‘देशको आर्थिक पाटो व्यापार व्यवसाय नै हो । व्यवसायीहरु डुबे भने यसको प्रत्यक्ष असर बैंक र देशको आर्थिक क्षेत्रमा पनि पर्छ । हामी एउटै जहाजमा छौं भन्ने कुरा सरकार र बैंकवालाहरुले पनि बुझ्नु पर्छ ।’
व्यवसायीले ऋण लिएर तिरेको ब्याजले नै बैंकहरुले नाफा कमाएका हुन् । यस्तो परिस्थितिमा उनीहले हाम्रो स्थितिलाई नबुझेमा भोलि बैंकहरु पनि डुब्ने अवस्था आउँछ । उद्योग व्यवसाय नै रहेनन भने । कुनै पनि व्यवसाय टिक्न सक्दैन । कसरी हुन्छ थोरै ब्याजमा ऋण दिएर भएपनि व्यवसाय टिकाउन बैंकहरुले पनि सहयोग गर्नुपर्छ उनले भने । उनका अनुसार हाल औपचारिक रुपमा तीन हजार होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन् । जसबाट १ लाख मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् ।