बागलुङ – १८ वर्षीया गंगालक्ष्मी शर्मा भारतको चेन्नइमा जीव विज्ञान पढ्दै थिइन् । कक्षा १२ को परीक्षा हुन नपाउँदै पहिलो चरणको कोरोना महामारीले सताएपछि परिवारसँगै नेपाल फर्केर क्वारेन्टाइन बसिन् ।
बाबु प्रकास शर्मा आचार्य काम खोज्न हिँडेको भन्दै क्वारेन्टाइबाटै भागे । अहिलेसम्म सम्पर्कमा आएका छैनन् । बागलुङको जैमिनी नगरपालिका १ कुश्मीसेराका आचार्य भागेपछि पत्नी भान मोझी(मीना), जेठी छोरी गंगालक्ष्मी र कान्छी छोरी ऐश्वर्या अलपत्र परे ।
त्यसपछि उनीहरू बागलुङस्थित पुरानो गाउँ आइपुगे । गाउँको घरमा ताला लागिसकेकाले बस्न सकेनन् । घर छाडेर बागलुङ बजार बस्न थालेका सासू-ससूराले डेरामा बस्न दिएनन् । खेतीपाती छिमेकीले गरेका छन् ।
अन्तत: डाक्टर पढ्ने चाहना राखेकी गंगालक्ष्मी अहिले होटलमा भाँडा माझेर बसेकी छन् । ‘पढाइ राम्रो थियो, तर बीचैमा छुट्यो, अहिले भाँडा माझ्दैछु’ गंगालक्ष्मीले भनिन्, ‘के गर्ने खान त पर्यो ।’ होटलमा पनि राम्रो काम नपाएको उनले बताइन् । होटलमा उनले वेटरको काम गरिरहेकी छन् । ‘डाक्टर पढ्ने चाहना थियो, तर अलपत्र भएँ गंगालक्ष्मीले भनिन्, ‘लकडाउनले पढाइ रोकियो, अब नेपालमा पढाइ मिल्दैन, भारतमा गएर पढ्ने न खर्च छ, न परिवारको साथ ।’ उनले अवसर पाए अझै पढ्ने चाहना राखेकी छन् । भारतको सर्टिफिकेटको आधारमा नेपालमा पढ्ने अवसर नभएको उनले बताइन् ।
२० वर्षअघि उनकी आमा मीनाको विवाह भएको थियो । बाबु प्रकाशले भारतमै राम्रो रोजगारी गर्थे । दुई छोरी जन्मेपछि भने उनले पत्नी मीनालाई हेप्न थाले । बागलुङको घर आउँदा पनि ल्याउँदैनथे । एक पटक आउँदा प्रकास एक वर्ष बसेर गएको मीनाले बताइन् । ‘एक वर्ष बस्दा धान रोप्ने, मकै गोड्ने, घाँसदाउरा पनि गरेको थिए, त्यसपछि आउने मौका मिलेन’ उनले भनिन्, ‘छोरी पढाएरै बस्दा आउन पाइनँ ।’ प्रकासले भने दोश्रो विवाह गरे । जायजन्म भएकी पत्नी मीना, जेठी छोरी गंगा लक्ष्मी र कान्छी छोरी ऐश्वर्या हुँदाहुँदै उनले अर्की पत्नी सोममाया रेश्मीसँग विवाह गरेर २०७३ सालको जेठ ३० गते दर्तासमेत गराएका छन् । जेठी पत्नी मीनाको भने अहिलेसम्म जन्मदर्ता र नागरिकता नै छैन ।
पति भागेपछि पत्नी, दुई छोरी र अर्की पत्नीतर्फको सानो छोरासमेत अलपत्र परेका हुन् । जेठी गंगाले होटलमा काम गर्छिन् भने पत्नी मीना र कान्छी छोरी ऐश्वर्याले पनि घरघरमा भाँडा माझ्ने काम गर्छन् । काम गरेरै यहाँको रुद्रे पिपल माविमा कक्षा १० मा पढ्छिन् । हजुरबुबा पदमनाथ शर्मा पनि अहिले सदरमुकाममै डेरा लिएर बसेका छन् । डेरामा बसेकोले बुहारी, दुई नातीनी र एक नातीलाई उनले पनि बास दिएका छैनन् । घर परिवारबाट तिरस्कृत भएपछि मीनासहितका चारजना मजदुरीमै होमिन पुगेका छन् ।
मीनाले नेपाली भाषासमेत राम्ररी बोल्न सक्दिनन् । मजदुरी गरेर रुद्रे पिपलस्थित डेरामा बस्दा उनीहरू धेरै जोखिममा छन् । ‘उनीहरू धेरै जोखिममा रहेछन्, तत्काल परिवारको संरक्षणमा नबसे अरु दुर्घटना पनि हुन सक्छ’ इन्सेक प्रतिनिधि सिर्जना पन्तले भनिन्, ‘उनीहरूले न्याय मात्र नभई परिवारको साथ र आर्थिक व्यवस्थापन समेत पाउनु पर्छ ।’ त्यसका लागि अधिकारकर्मी र समाजको साथ चाहिने उनले बताइन् ।
आचार्यले भने २०७३ सालमा दोश्रो पत्नी सोममाया रेश्मीको विवाह दर्ता गराए पनि उनले ४ वटा विवाह गरेको र तीमध्ये छोरा तर्फकी पत्नीले प्रकासलाई छाडिसकेकी छन् । अहिले कान्छी पत्नीसँग बसेका तस्बिर भेटिए पनि पतिलाई भेटाउन नसकेको मीनाले गुनासो गरिन् । ‘मलाइ विवाह दर्ता र नागरिकता बनाइदिनु पर्यो’ उनले भनिन्, ‘घर परिवारमा बस्ने र छोराछोरी पढाउने अवसर चाहियो ।’ उनले अधिकारका लागि साथ दिन सबैलाई आग्रह गरेकी छन्।
सामाजिक अगुवाहरूको दबाबपछि प्रकासका बाबु पदमनाथले सूचक भरिदिएपछि छोरीहरूको जन्मदर्ता भने बनेको छ । जन्मदर्ता बने पनि परिवारको साथमा नभएको, खानबस्न नदिएका कारण उनीहरूको अवस्था जोखिममा परेको स्थानीय होटल व्यवसायी अर्जुन चोखाल बताउँछन् । जेठी छोरी गंगालक्ष्मीलाई चोखालले नै आफ्नो होटलमा काममा राखिदिएका हुन् ।