काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आइतबार ‘आपका वजीर ए आजम आपके साथ’ कार्यक्रममा आम जनताका प्रश्नको जवाफ दिए । यस क्रममा पाकिस्तानी प्रधानमन्त्रीसँग महंगीका विषयमा केही तीखा प्रश्न पनि सोधिए । पहिलो प्रश्न रावलपिंडीकी सइदा नाज नामकी एक महिलाले सोधिन् ।
सइदा नाजले भनिन् ‘म रावलपिंडीकी एक गृहिणी हुँ । वजीर ए आजम (प्रधानमन्त्री) साहब तपाइँले गत वर्ष यही कार्यक्रममा भन्नुभएको थियो कि महंगीमा छिटै नियन्त्रण गरिनेछ । अहिले वर्ष पुग्नै लाग्यो तर महंगी दोब्बर भएको छ । शायद तपाइँलाई वास्तविकता बताइँदैन । तपाइँले अरु केही गर्न सक्नुहुन्न भने अनलाइनमा गएर आटा र दालकै मूल्य हेर्नुस् । हामीलाई बताइदिनुस् कि अब त हामी डराउनुपर्छ ।’
यो प्रश्नको जवाफमा इमरान खानले भने ‘आजकल सूचना प्रविधि र मोवाइल फोनको जमाना छ । म जब बिहान उठ्छु त्यसपछि एक घण्टा मोवाइल हेर्छु र सबै सूचना पाउँछु । देशमा कुन तहभन्दा माथि के भइरहेको छ मैले सबै थाहा पाउँछु । एउटा कुरा जसले मलाई कैयौं पटक रातमा उठाउँछ त्यो महंगी हो । महंगी अहिले पूरै विश्वमा छ ।’
‘एक त जब मैले शासन पाएँ त्यतिबेला चालु खाता घाटा २० अर्ब डलर थियो । यो दबाबलाई कम गर्न हामीसँग डलर नै थिएन । हाम्रो रुपैयाँ गिर्दै गयो । यही कारण महंगी बढ्यो । दोस्रो कारण कोरोनाले विश्वको आपूर्ति चेनलाई प्रभावित पारेको छ र अहिले त्यसको असर छ । दुर्भाग्यवश हामीकहाँ केही यस्ता पत्रकार छन् जसले केवल डर फैलाउँछन् र यो बताउँदैनन् कि महंगी केवल पाकिस्तानमा मात्र छैन ।’
इमरान खानले भने ‘कोरोनाको संकटमा पूरै विश्व चपेटामा छ । अमेरिका र युरोप पनि यसबाट प्रभावित छन् । तेलको मूल्य दोब्बर भएको छ । यसको असर हरेक कुरामा परेको छ । अमेरिकाले कोरोना महामारीको मुस्किलबाट मानिसहरुलाई निकाल्नको लागि ६ हजार अर्ब डलर खर्च गर्यो र हामीले ८ अर्ब डलर खर्च गर्यौं । दुवै देशको अवस्थाको तुलना तपाइँ गर्न सक्नुहुन्छ ।’
पाकिस्तानका चर्चित पत्रकार हमीद मीरले इमरान खानको यो जवाफबारे टिप्पणी गर्दै ट्वीटरमा लेखेका छन् ‘एक गृहिणीले प्रधानमन्त्रीसँग अत्यन्तै सीधा र सरल प्रश्न सोधिन् कि गत वर्ष तपाइँले भन्नुभएको थियो महंगी कम हुन्छ तर अझै बढ्यो । यो सीधा प्रश्नको जवाफमा इमरान खानले लामो कहानी सुनाए । उनले यसको लागि मिडियालाई पनि जिम्मेवार ठहर गरे ।’
प्रश्न उत्तरको क्रममा इमरान खानले राष्ट्रिय सभामा प्रतिपक्षी नेता शहबाज शरीफलाई पनि निशानामा लिए । इमरान खानले भने ‘मानिसहरु भन्छन् कि शहबाज शरीफ प्रतिपक्षी नेता हुन् र तपाइँ उनीसँग भेट्नुहुन्न, न हात मिलाउनुहुन्छ । म उनलाई प्रतिपक्षी नेता सम्झिन्न । म उनलाई जनताको अपराधी सम्झिन्छु । कुनै देशमा प्रतिपक्षी नेताको ठूलो प्रतिष्ठा हुन्छ । संसदमा डेढ २ घण्टा बहस गर्छन् । अहिलेसम्म यो जवाफ दिन सकेका छैनन् कि उनका छोराको जो रमजान शुगर मिल छ त्यहाँ उनका चपरासीको खातामा ४०० करोड कसरी आयो । १६ अर्ब रुपैयाँ नोकरहरुको खातामा कसरी गयो ?’
इमरान खानले भने ‘कुनै देश केवल परमाणु बमले विनाश हुँदैन । नैतिकता र सिद्धान्तबाट टाढा जाँदा पनि विनाश हुन्छ । स्विट्जरल्याण्डमा केवल गाई र पहाड छन् तर उनको बरियता संसारका शीर्ष देशहरुमा यसकारण छ किनकि कानुनको राज छ ।’ इमरान खानले निर्धारित २३ मार्चको विपक्षीको प्रदर्शनका विषयमा सोधिएका प्रश्नको जवाफमा यो विगत ३ वर्षदेखि चलिरहेको बताए । उनले अब विपक्षीको साथमा जनता सडकमा नआएको बताए ।
इमरान खानले विपक्षीलाई चेतावनी दिँदै भने ‘यदि म सरकारबाट बाहिर आएँ भने उनीहरुको लागि धेरै खतराक हुनेछ । अहिलेसम्म त म चुप भएर अफिसबाट तमाशा हेरिरहेको छु । यदि म सडकमा आएँ भने तपाइँको लागि लुक्ने ठाउँ पनि हुने छैन । जनताले तपाइँलाई चिनिसकेका छन् । तपाइँले विगत ३०–३५ वर्षमा यो देशसँग गर्नुभएको छ, त्यसका कारण जो लाभा पाकिरहेको छ यस्तोमा जनतालाई केवल तपाइँहरुतिर देखाउनु पर्छ । त्यसपछि तपाइँ सबै लण्डन भाग्नुपर्छ ।’
नवाज शरीफको सरकारमा अर्थमन्त्री रहेका इशाक दारले इमरान खानको यो टिप्पणीबारे ट्वीट गर्दै भनेका छन् ‘पहिले यो भन्थे कि सरकारमा आएपछि कसैलाई छोड्दैनौं । अब भनिरहेका छन् कि सरकारबाट बाहिर आएपछि कसैलाई छोड्दैनौं । यस्तो हामीले विगत २५ वर्षदेखि सुनिरहेका छौं ।’