नयाँदिल्ली – बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो करिअरमा थुप्रै महिला चरित्रको भूमिकामा अभिनय गरेकी छन्। ‘म्यारी कोम’मा बक्सरको भूमिकादेखि ‘क्वान्टिको’को एलेक्ससम्म ।
उनले पछिल्लो समय पर्दामा बलियो महिला चरित्रहरुमा अभिनय गर्दै आएकी छन् । हालै एक अन्तर्वार्ताको क्रममा अभिनेत्री चोपडाले महिलालाई कमजोर देखाइएको भूमिका आफूलाई मन नपर्ने धारणा राखेकी छन् ।
‘महिलालाई कमजोर देखाउनु, निर्णय लिन नसक्ने र पुरुष पात्रको तुलनामा भावनात्मक देखाएको चरित्र मलाई मनपर्दैन,’म्याट्रिक्स रिजरेक्सन्सकी अभिनेत्री चोपडाले हालै इन्टरटेनमेन्ट विक्लीलाई भनेकी थिइन् । महिला भएकै कारण महिलालाई स्क्रिप्टमै कमजोर देखाइएको प्रवृतिमाथि धेरै पटक फिल्मकर्मीसँग लड्दै आएको पनि उनले बताइन् ।
हालै सरोगेसीबाट आमा बनेकी चोपडाले थपिन्,’मलाई कमजोरीसहितको चरित्रमा अभिनय गर्न मन लाग्छ । मलाई लाग्छ आफ्नो कमजोरी स्वीकार्नुमा पनि एक किसिमको तागत हुन्छ ।’