
विराटनगर – मोरङको रतुवामाई नगरपालिका–९ भौंडाहाबाट ठूलो परिणामको प्रतिबन्धित औषधिसहित प्रहरीले आइतबार बिहान दुईजनालाई पक्राउ गरेको छ । नेपालमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको औषधि ट्रामाडोलसहित सुनवर्षी नगरपालिका–६ का ३२ वर्षीय श्रवणकुमार ताजपुरिया र सुनवर्षी–७ का ३० वर्षीय कात्तिकचन्द दासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार उनीहरुको साथबाट २० हजार ट्याब्लेट ट्रामाडोल फेला परेको छ ।
प्रहरी चौकी इटहराबाट खटिएको टोलीले प्रदेश १–०२–०४६ प ७८६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो । सडकमा तीव्र गतिमा हुँइकिरहेको मोटरसाइकल रोकेर चेकजाँच गर्दा ठूलो परिणाममा प्रतिबन्धित औषधि ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुले उक्त प्रतिबन्धित औषधि भारतदेखि ल्याएको प्रहरीको भनाइ छ । प्रहरीले थप कारबाही अघि बढाउन दुवै जनालाई औषधि व्यवस्था विभाग विराटनगरको जिम्मा लगाएको छ ।