सप्तरी – हनुमाननगर कंकालिनी नगरपालिका–८ योगिनियाँस्थित स्थानीय सरकारको मातहतमा रहेको गेस्ट हाउसमा हातियारधारी चार जना बसी भाडाको गाडी नै लिएर भारततर्फ फरार भएका छन् । गाडीको चालकलाई भने उनीहरूले गेस्ट हाउसकै कोठामा थुनेर राखेको अवस्थामा भेटिएको थियो ।
‘तीन दिनसम्म साँचो फिर्ता नभएपछि हामी गेस्ट हाउस पुग्यौं, गेस्टहाउस बाहिरबाट ‘लक’ थियो । ‘डुब्लिकेट’ साँचो मगाएर भित्र प्रवेश गर्दा एउटा कोठामा स्कार्पिओका चालक थुनिएको अवस्थामा पाइयो’, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८ का अध्यक्ष रुन्दिलाल मण्डलले भन्नुभयो– ‘त्यसपछि हामीले नगर प्रमुख शैलेशकुमार साहलाई जानकारी गरायौं र उहाँकै सल्लाहअनुसार प्रहरीलाई पनि खबर गर्यौं ।’
भाडामा लिइएको स्कोर्पिओ, हतियारधारी यही गाडी लिएर फरार भएका हुन् ।
सोधखोज गर्दा चार जनाको समूहमा रहेका उनीहरुसँग हतियार (पेस्तोल) समेत रहेको कुरा ती चालकबाटै जानकारी पाएको उहाँ बताउनुहुन्छ । यद्यपि, हतियार बोकेरै उनीहरु के गर्न यहाँ आएका थिए भन्ने कुरा आफूहरुलाई केही जानकारी नरहेको अध्यक्ष मण्डलले बताउनुभयो । वडाध्यक्ष मण्डलका अनुसार गत शुक्रबार (पुस १६ गते) स्थानीय नेता इन्द्रदेव यादवले फोन गरे र दुई जना पाहुना आएको छन् भन्दै गेस्टहाउसको साँचो मागे । ‘मैले बास बस्नेसम्म त ठीकै छ तर मदिरा सेवन गर्ने प्रयोजन हो भन्ने दिन्नँ भने’, उहाँले भन्नुभयो– ‘तर, उहाँले बास बस्नकै लागि हो भन्नुभयो, अनि मैले साँचो दिएँ । हाम्रै कार्यालय सहयोगी बद्री खंगका छोरा सुरेन्द्र खंगलाई साँचो दिएर गेस्टहाउस पुर्याइदिन भने ।’
आइतबार (पुस १८ गते) साँझतिर साँचो कहाँ छ भनेर सोधखोज थालेको र सोमबार बिहान गेस्टहाउस पुग्दा ती व्यक्तिहरुले चालकलाई कोठामा थुनी भाडामा लिएको बा१४प ७८३ नम्बरको स्कोर्पिओसमेत लिएर मध्यराति नै भागेको रहस्य खुलेको वडाध्यक्ष मण्डलको भनाइ छ । ‘हामी त्यहाँ पुग्दा केही खानेपानीका बोतल थिए । गेस्टहाउसमा राखिएको दुईवटा सिरक पनि उनीहरुले लगेका छन्’, उहाँले भन्नुभयो– ‘बास बस्न आएका उनीहरुको ‘इन्ट्री’ समेत गराइएको रहिनछ ।’
स्रोतका अनुसार पेस्तोल र साइलेन्सर (साउन्डलेस बनाउन पेस्तोलमा जडान गरिने) बोकेका ती समूह राति १२ बजेर ११ मिनेटमा बोर्डर पार गरेका थिए । यद्यपि, नेपालतर्फका प्रहरीसँग उनीहरुको रेकर्ड छैन । भारततर्फका प्रहरीसँग भने चारै जनाले भारत प्रवेश गरेको ‘इन्ट्री’ रहेको स्रोतको दाबी छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–८ योगिनियाँस्थित स्थानीय सरकारको मातहतमा रहेको गेस्ट हाउस ।
नगर प्रमुख साहले उनीहरुलाई साँचो दिने विषयमा आफूसँग कुनै सल्लाह नै नगरेको बताउनुभएको छ । ‘हुन त गेस्ट हाउसको साँचो नगरपालिकामै हुन्छ र मसँग सल्लाह गरेरै कसैलाई दिइन्छ पनि । तर, केही समयअघि सो गेस्ट हाउसमा कार्यक्रम भएको थियो र साँचो वडाध्यक्षसँग रह्यो’, उहाँले भन्नुभयो– ‘कसैलाई साँचो दिनुपर्दा मसँग सल्लाह गर्नुपर्ने थियो तर मलाई यो विषयमा केही जानकारी गराइको थिएन ।’
उता, सप्तरीका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले ती व्यक्तिसँग हतियार रहेको बुझिएकाले गहन अनुसन्धान थालिएको प्रतिक्रिया दिनुभयो । ‘स्कोर्पिओ चालकका अनुसार ती व्यक्तिहरुसँग हतियार रहेको बुझिन्छ, यद्यपि के प्रयोजनका लागि हतियारसहित उनीहरु यहाँ आए भन्ने विषय अनुसन्धानकै पाटो हो’, उहाँले भन्नुभयो– ‘सो विषयमा हामी गहन अनुसन्धानमा लागेका छौं ।’