हेटौंडा -आन्तरिक राजस्व कार्यालय हेटौंडाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व संकलनमा प्रगति गरेको छ ।
कोरोना महामारीका बीच पनि मकवानपुरका विभिन्न स्थानीय तहमा सञ्चालित उद्योग, कलकारखानामा अनुगमन गरी राजस्व संकलनलाई तीव्रता दिइएकाले १६ प्रतिशत बढी राजस्व संकलन भएको कार्यालय प्रमुख शालिकराम आचार्यले बताए ।उनका अनुसार गत आवमा विभिन्न स्रोतको राजस्वबापत ५ अर्ब ५५ करोड ८४ लाख ६ हजार रुपैयाँ राजस्व उठेको छ । यो आँकडा अघिल्लो आवमा उठेको ४ अर्ब ७८ करोड ७३ लाख ४० हजार रुपैयाँभन्दा ७७ करोड १० लाख ६६ हजार रुपैयाँले बढी हो ।
कार्यालयले गत आवमा अन्तःशुल्क २ अर्ब ८६ करोड ९ लाख २१ हजार, मूल्य अभिवृद्धि कर १ अर्ब ३४ करोड ८ लाख ५४ हजार, आयकर १ अर्ब १० करोड ६९ लाख १३ हजार, ब्याजकर ४ करोड ६० लाख ८१ हजार र घरबहाल कर २ करोड ६२ लाख ९३ हजार रुपैयाँ संकलन राजस्व संकलन गरेको जनाएको छ ।