काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच आज बिहान भेटवार्ता भएको हो ।
उनीहरुबीच भएको भेटमा तत्काल मन्त्रीपरिषद विस्तार गर्ने विषयमा छलफल भएको अध्यक्ष दाहालको निजि सचिवालयले जनाएको छ ।२९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद्मा हाल एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री छन् । सरकार बनेको डेढ महिना हुँदा पनि प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न नसकेको भन्दै चौतर्फी आलोचना हुँदै आइरहेको छ । माधवकुमार नेपाल नेकपा एमालेमा हुँदा समस्या भएकाले सत्ता गठबन्धनले नेपाल पक्षलाई पर्खिएका थिए । एमालेबाट औपचारिक रूपमा विभाजित भएपछि नेपाल समूहलाई सरकारमा जान बाटो खुलेको हो । बालुवाटार स्रोतका अनुसार सत्ता गठबन्धनमा आबद्ध दलबीच मन्त्रालयको संख्याको भागबन्डा टुंगिए पनि प्रधानमन्त्री देउवाले मन्त्रीहरूको नाम भने पाइसकेका छैनन् । देउवाले अब गठबन्धन आबद्ध ती दलबाट मन्त्रीको नाम आएपछि १४ भदौमा सरकार विस्तार गर्ने तयारी गरेका छन् ।
गठबन्धन आबद्ध दलका एक नेताका अनुसार कांग्रेसले कुल सात, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाबीच समान रूपमा एक राज्यमन्त्रीसहित ६–६ मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ । संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा कुल २५ मन्त्री राख्न पाउँछन् । आजको भेटपछि दाहालले माओवादीबाट सरकारमा जाने मन्त्रीको नाम टुङ्गो लगाउने बुझिएको छ ।