काठमाडौं – बारा, नवलपारसी (पूर्व) र मोरङमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा ना।६ ख ४६४१ नम्बरको बसले बागमती प्रदेश ०३-००१ प ४११ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिई दुर्घटना हुँदा बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मीको मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका तीन जनाको चुरेहिल अस्पताल, तीनजनाको अर्थोपेडिक अस्पताल हेटौंडा र दुईजनाको सन्चो अस्पताल हेटौंडामा उपचार भइरहेको छ।
नवलवपरासी (पूर्व) को कावासोती नगरपालिका-२ खरकट्टा जङ्गलस्थित सडकमा ना२ख ७५५५ नम्बरको ट्रक र लु४६प ४७५८ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका-३ बस्ने २१ वर्षीय अमर अधिकारीको मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय ममता खाणको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मोरङको विराटनगर महानगरपालिका-७ आरके मलस्थित सडकमा ना७ख ३१३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय जनक बस्नेतको बिहीबार दिउँसो मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।