विराटनगर – सर्वसाधारणको लागि जोगबनी नाकाको ढाट खुला गरिएको छ ।
कोरोना महामारी सुरु भएसँगै नेपाल–भारत सीमाका तीनवटै ढाट बन्द गरिएको थियो । तर, कोरोनाको दोस्रो लहर केही मत्थर भएसँगै जोगबनी नाकाको गेट सर्वसाधारणको लागि खुला गरिएको छ । मुख्यद्वारको गेट भएर भारतबाट छिटपुट रूपमा आउने नेपाली र भारतीयलाई एन्टिजेन परीक्षण गरेर नेपालतर्फ प्रवेश गर्ने व्यवस्था थियो । यताबाट सर्वसाधारण भने सहायक मार्ग हुँदै जोगबनीसम्म गई किनमेल गर्ने गर्थे । उनीहरुको लागि मुख्य ढाट खुला गरिएसँगै किनमेलका लागि पारि जाने र उताबाट नेपालतर्फ आउनेहरुको लागि सहज भएको छ ।
मुख्य ढाटहरु बन्द गरिँदा आवतजावत झन् अव्यवस्थित भएको र यसलाई व्यवस्थित गर्न पनि खुला गर्नुपर्ने माग उठ्दै आएको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले गृह मन्त्रालयलाई मुख्य मार्गबाटै पैदलयात्री तथा सर्वसाधारणलाई आउजाउ गर्ने प्रबन्ध गर्न अनुरोध गरी परिपत्र गरेको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आउजाउलाई व्यवस्थित रूपमा सञ्चालन गर्नको लागि मुख्यद्वार खुला गरिएको बताए ।सीमामा विराटनगर महानगरपालिकाले हेल्थ डेस्क सञ्चालन गरिरहेको छ । प्रारम्भिक स्वास्थ्य परीक्षण गर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउनसमेत सहज भएकोले पैदलयात्रीलाई आउजाउ गर्न रोक्न नहुने प्रशासनको ठहर रहेको बताइएको छ ।
स्थानीय राजेश गुप्ता भन्छन्, “धेरै मानिस भारततिर गई किनमेल गर्ने गर्छन् । कोरोनाको कारण आउजाउ पूर्णतः बन्द थियो । तर, अब खुला भएपछि सहज भएको छ ।”