ललितपुर – वृद्धवृद्धा, अपांगता भएका र अशक्त व्यक्तिलाई लक्षित गरेर ललितपुर महानगरपालिका वडा नम्बर–३ ले निःशुल्क विद्युतीय गाडी सञ्चालनमा ल्याएको छ ।
पाटनढोका–झम्सिखेल–सानेपा–चक्रपथ–सुन्दरीघाट–कीर्तिपुर रुटमा चल्ने गरी हाल एउटा गाडीबाट सेवा थालिएको र पछि आवश्यकताअनुसार बस थप गर्ने वडाध्यक्ष श्रीगोपाल महर्जनले जानकारी दिए । सर्वसाधारणले कार्यालय धाउन दुःख पाएको देखेर यस्तो सेवा सुरु गरिएको उनको भनाइ छ । ‘गाडीले दैनिक आवश्यकताअनुसार ३–४ पटकसम्म रुट परिक्रमा गर्नेछ । वडामा सेवा लिन आउनेबाहेक रुटमा पायक पर्ने वडावासी सबैले गाडी चढ्न सक्नेछन्,’ उनले भने ।वडा कार्यालयले २ हजार २ सय घरधनीलाई परिचयपत्रसमेत वितरण गरिसकेको छ । उक्त परिचयपत्रका आधारमा परिवारका अन्य सदस्यले पनि सेवा लिन सक्नेछन् । गाडी सञ्चालनमा आएसँगै वडावासीले गाडी फेरेर पुल्चोकस्थित कार्यालय पुग्नुपर्ने झन्झटबाट मुक्ति पाउने महर्जनले दाबी गरे । उनका अनुसार वडामा सिफारिस वा कामविशेषले आउनुपरेमा वृद्धवृद्धा, अपांगता भएका र अशक्तबाहेक आफ्नो सवारीसाधन नहुने पनि बस चढ्न सक्नेछन् । ‘गाडी भदौ १ देखि नियमित रूपमा सञ्चालनमा आउनेछ,’ उनले भने । वातावरणविद् भूषण तुलाधरले वडा कार्यालयले थालेको विद्युतीय भ्यान सेवाले उपत्यकाको बढ्दो वायु प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने आशा व्यक्त गरे । ‘यसलाई अन्य वडाले पनि अनुसरण गर्दै जानु उचित हुन्छ,’ उनले भने ।
सरकारले सन् २०२५ सम्ममा फालिएका, पुराना र मर्मत नगरिएका गाडीबाट हुने वायु प्रदूषण कम गर्ने, सन् २०४० सम्ममा विद्युतीय रेल सञ्जाल विकास गर्ने र सन् २०५० सम्ममा सार्वजनिक यातायातमा पेट्रोलियम इन्धनको निर्भरता ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।