सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि ठूलो बाढी आएको छ । स्थानीयका अनुसार यो बाढी गत असार १ को भन्दा पनि ठूलो छ । असार १ मा आएको बाढीका कारण त्यहाँ ठूलो जनधनको क्षति भएको थियो ।
गए राति आएको बाढीका कारण केही घरमा क्षति पुगेको छ । त्यस्तै तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । गए रातिको बाढीले रेडियो मेलम्चीको भवन बगाएको स्टेसन म्यानेजर देवराज सुवेदीले जानकारी दिए । साथै, खोलाको धार परिवर्तन भई तालामाराङ प्रहरी चौकीको भान्छा घरसमेत बगाएको उनको भनाइ छ । ‘रेडियो मेलम्चीको भवन ढलेको छ साथै मीन देउजाका अनुसार खोलाको धार परिवर्तन भई तालामाराङ प्रहरी चौकीको भान्छा घर समेत लगेको भन्ने खबर आयो,’ सुवेदीले फेसबुकमा लेखेका छन्, ‘अब हाम्रो बस्तीतिर छिर्ने सम्भावना बढेर गएको छ । सबै सुरक्षित बस्नुहोला ।’
राति करिब पौने ९ बजेतिर आएको बाढीले चनौटे, ग्याल्थुङ बजार तहसनहस बनाएको छ । असार १ को बाढीले क्षति पुर्याएको ठाउँमा बाढीले थप क्षति पुर्याएको बताइएको छ ।