लण्डन – विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड-१९)का कारण गत तीन सातामा विदेशमा थप ३९ जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार मलेसियामा ३७ जना इराक र युगान्डामा १–१ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । संघले संकलन गरेको तथ्यांक अनुसार हालसम्म भारतसहित विश्वभर २९ मुलुकमा रहेका ४ सय ८६ जना नेपालीको कोभिड–१९ का कारण निधन भएको छ । इराकमा पहिलो पटक कोरोनाका कारण नेपालीको ज्यान गएको हो ।गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोरोनामुक्त भएका छन् ।
समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१ दशमलव ८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन् । यसैबीच नेपालमा हालसम्म पीसीआर परीक्षणबाट ६ लाख ९३ हजार १ सय ९ जना संक्रमित पुगेका छन् । ९४.१ प्रतिशत अर्थात ६ लाख ५२ हजार २ सय ६१ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण हालसम्म ९ हजार ८ सय ३४जनाको निधन भएको छ ।
गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्याङ्क संकलन गर्दै आएको छ ।