सल्यान – वनगाडकुपिण्डे नगरपालिका–३, खानीगाउँकी ४५ वर्षीया दिलमाया बुढा घरनजिकैको मुहान सुकेपछि एक गाग्री पानीको लागि डेढ घण्टा हिँड्न बाध्य थिइन् ।
सल्ले झरोको भरमा रातिसमेत पानीको लागि धाउनुपर्ने बाध्यता थियो । अहिले घरनजिकै धारामा पानी आउँदा उनी दंग छिन् ।सोही ठाउँकी ४३ वर्षीया गौरी पुनका पनि दुःखका दिन गएका छन् । लिफ्ट खानेपानी योजना पूर्ण रूपमा कार्यान्वयन नभए पनि बस्तीमा पानी पुगेपछि वनगाडकुपिण्डे नगरपालिका–३ का खेतगारा, खानीगाउँ, मेलटाकुरा, कुमटाकुराका स्थानीयले घर नजिकैबाट स्वच्छ पानी खान पाएका छन् । लामो समय हिँडेर पानी ल्याउनुपर्दा विभिन्न किसिमका पीडा सहँदै आएका स्थानीयवासी गाउँमै पानी पुगेपछि खुसी भएका छन् ।
साझेदारी कार्यक्रमअन्तर्गत सांसद विकास कोषको ५० लाख, कर्णाली प्रदेश सरकारको ५० लाख र वनगवाडकुपिण्डे नगरपालिकाको २ करोड ७४ लाख गरी ३ करोड ७४ लाखमा सोलार प्रयोग गरी लिफ्ट खानेपानी योजना सञ्चालन गरिएको हो । करिब ५ सय मिटर तलको मुलाखोलाबाट लिफ्ट गरी ल्याइएको खानेपानीबाट बस्तीका १ सय ७६ घरधुरी लाभान्वित भएका स्थानीय इन्द्रकुमार पुनले बताए । पानी लिनका लागि विभिन्न किसिमको जोखिम उठाई खोला तथा मुहान चाहार्न छुटेको उनले बताए । ‘रातविरात हिँड्दा जंगली जनावरमात्र नभई सर्पको डर त्यत्तिकै हुन्थ्यो,’ उनले भने, ‘अब त स्थानीय महिलालाई रातविरात पानीको लागि खोला मुहान चाहार्न पर्दैन, हाम्रा सुखका दिन आए ।’
पानी लिन जाँदा विद्यालय पढ्ने बालबालिकाको पढाइ प्रभावित हुने गर्थ्यो । बालबालिका विद्यालय जानबाट वञ्चित हुन्थे । पानी पुगेपछि शौचालय तथा अन्य सरसफाइमा समते सहज हुने पुनले बताए ।स्थानीयवासीले करिब ३ दशकअघि योजना माग गरे पनि गत वर्ष मात्र बजेट जुटेको थियो । वनगाडकुपिण्डे नगरपालिका प्रमुख गोविन्दकुमार पुनले नगरपालिकाको सबै बस्ती डाँडामा भएकाले खानेपानीका लागि स्थानीयले विगतदेखि विभिन्न किसिमका समस्या भोग्दै आएका र अब आउँदा दिनमा स्थानीयले ती समस्या भोग्न नपर्ने बताए । नगरपालिकाका धेरै स्थानमा अहिले खानेपानी योजना सञ्चालन भइरहेका उनले बताए ।
ठेकेदार कम्पनी जेयूपी प्रालिले अहिले ९५ प्रतिशत काम सम्पन्न भइसकेको र योजना सम्पन्न भएपछि स्थानीयलाई पानीको समस्या सधैंका लागि समाधान हुने बताएको छ । कम्पनीका प्रतिनिधि विश्वविक्रम जोशीले अब घरहरूमा धारा जडानको काम मात्र बाँकी रहेको जनाएका छन् ।