धनुषा – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धनुषाका किसानलाई अनुदानमा ट्याक्टर उपलब्ध गराएको छ । धान जोनका ५ कृषि समूहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ धनुषाले ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराएको हो ।
मजदुर अभाव हुन नदिन किसानलाई अधिकतम प्रयोग हुने ट्याक्टर अनुदानमा उपलब्ध गराएको परियोजना कार्यान्वयन इकाइ धनुषाका प्रमुख युगलकिशोर तिवारीले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धनुषामा धान सुपर जोनलाई केन्द्रित गर्दै धान उत्पदान गर्ने कृषक समूहलाई १२ लाख ८० हजार पर्ने ट्याक्टरमा ६ लाख ४० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको उनले जानकारी दिए ।‘धान खेती गर्ने किसानले खनजोत, ढुवानी, थ्रेसिङ र रोपाइँका लागि प्रयोग गर्न सक्छन्,’ उनले भने, ‘मजदुर अभावमा धान खेती प्रभावित भएको छ । धान जोनका किसानलाई ट्याक्टरले मजदुरको समस्या केही हदसम्म समाधान गर्नेछ । धनुषामा धान जोन कार्यक्रम ल्याएर चैते धान खेती फस्टाएको छ ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई धान रोप्नेदेखि काट्ने मेसिन उपलब्ध गराउने तयारी भइरहेको प्रमुख तिवारीले बताए ।
कृषक समूहहरूसँग आवेदन माग गरी मूल्यांकन समितिको सिफारिसमा कमला नगरपालिकाको लीलावती कृषक समूह, हंसपुरको राजदेवी कृषक समूह, सहिदनगर नगरपालिकाको रामजानकी कृषक समूह, औरही गाउँपालिकाको कृष्णा कृषक समूह र श्रवण कृषक समूहलाई ट्याक्टर उपलब्ध गराइएको छ ।