सप्तरी – प्रदेश २ सरकार र प्रतिपक्षी नेकपा एमाले र माओवादीबीच चलिरहेको रस्साकस्सी साम्य हुने देखिएको छ ।
निर्वाचनक्षेत्र विकास कार्यक्रमका लागि रकम बढाउने सहमती भएपछि सरकार र विपक्षीबीच प्रदेशसभामा देखिएको घमासान अन्त्य हुने भएको हो ।निर्वाचनक्षेत्र विकासका लागि प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई अढाई करोड दिनुपर्ने माग गर्दै गएको असार १ गते माओवादी र एमालेका सांसदहरुले सरकारलाई बजेट टेबल गर्न रोकेका थिए ।तर मुख्यमन्त्री लालबाबु राउतले रकम बढाउने आश्वासन दिएपछि आथिर्क मामिला तथा योजनामन्त्री विजय कुमार यादवले राति करिब पौने १० बजे बजेट टेबल गरेका थिए ।
त्यसयता निर्वाचनक्षेत्र विकास कार्यक्रमको रकम बढाउने सम्बन्धमा सत्ता पक्ष र प्रतिपक्षी एमाले र माओवादीबीच पटक पटक छलफल समेत भएको थियो ।छफलको क्रममा प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदलाई डेढ करोड दिने सहमती भएको एमालेका एक सांसदले जनकप्ुरप्रेसलाई जानकारी दिए ।‘लिखितै सहमती त भइसकेको छैन तर हाम्रा दलका नेताले प्रत्यक्षलाई ४ करोड र समानुपातिकलाई डेढ करोड दिने सरकारसँग सहमती भएको जानकारी गराउनुभएको छ । तर मौखिक सहमतीको भर पनि छैन,’ उनले भने ।
यद्धपी यसबारे ठोष निर्णय भने भइनसकेको माओवादीका प्रमुख सचेतक दिलिप साहले जानकारी दिए ।‘सत्ता पक्षले २५/५० लाख बढाउने कुरा गरिरहेको छ । तर कति बढाउनेबारे हामीसित ठोस सहमती भएको छैन् । छलफल चलिरहेकै छ,’ उनले भने ।सहमती भएकै कारण प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि आजदेखि हुने छलफलमा प्रतिपक्षीले समेत विरोध नगर्ने बताइएको छ ।