सप्तरी : जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले साउन ५ गतेबाट हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनले शतप्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएर सेयरधनी दर्ता किताब पनि बन्द गरिसकेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरमूल्यमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद हकपद्रको लागि कम्पनीले जेठ २८ गते सेयरधनी दर्ता किताब बन्द गरिसकेकाले जेठ २७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् ।
जेठ २७ गतेसम्म कायम सेयरधनीले साउन २५ गतेसम्म कम्पनीको हकप्रद सेयर भर्न पाउने छन् ।
कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आईएमई क्यापिटल, ग्लोबल आईएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरोसेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिनेछ ।
कम्पनीको हकप्रदका लागि क्रेडिट रेटिङ एजेन्सी ‘केयर रेटिङ नेपाल’ले ‘केयर एनपी सिङ्गल ए माइनस आइएस’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिममा रहेको संकेत गर्दछ ।
हाल ११ अर्ब रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशन तथा बाँडफाँडपछि २२ अर्ब रुपैयाँ पुग्नेछ । हकप्रद सेयर जारी भएर सूचिकृत हुँदा कम्पनी देशकै सबैभन्दा धेरै चुक्ता पुँजी भएको कम्पनी बन्नेछ । हाल सबैभन्दा धेरै चुक्ता पुँजी ग्लोबल आईएमई बैंकको रहेको छ ।