बैतडी – बैतडीमा गत वैशाख २० गतेदेखि जारी निषेधाज्ञा थप खुकुलो पारिएको छ। जारी निषेधाज्ञा खुकुलो पार्दै असार मसान्तसम्म लम्ब्याइएको हो।
कोरोना भाईरसको संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञालाई जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयले बताए। पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय आज राती १२ बजेपछि सकिदैछ।कोरोना भाईरसको संक्रमणदर केही घटेपनि जोखिम कायमै रहेकाले खुकुलो पार्दै निषेधाज्ञाको अवधि थप गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। जारी निषेधाज्ञाको समयमा सबै प्रकारका सभा, सम्मेलन र गोष्ठीमा लगाएको रोक यथावत राखिएको छ भने विवाह ब्रतबन्ध जस्ता धार्मिक कार्यमा बढीमा १० जना सहभागी गराएर मात्रै गर्न पाइने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ।यस्तै जिल्लाभरी सार्वजनिक सवारी तथा निजी भाडाका गाडी सीट क्षमता भन्दा आधा यात्रु बोकेर बिहान ७ बजेदेखि साँझ ७ बजे सम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ। सबै कार्यालयहरुले सार्वजनिक सेवा नियमित रुपमा प्रवाह गर्नुपर्नेछ भने सार्वजनिक सेवा प्रवाह गर्दा स्थानीय तहहरुको आलोपालो मिलाई गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ। सबै प्रकारका पसलहरु बिहान ७ देखि साँझ ६ बजे सम्म सञ्चालन हुनेछन्। होटेल तथा रेष्टुराहरुले होमडेलीभरी तथा टेकवे सेवा सञ्चाल गर्न सक्नेछन्।
निषेधाज्ञाको समयमा कसैले कालोबजारी गरेको, कृत्रिम अभाव सिर्जना गरेको, मूल्य बढाएको पाइएमा कानुन अनुसार कारवाही हुने आदेशमा उल्लेख गरिएको छ।