डाेटी – जिल्ला अस्पताल डोटीमा बन्द रहेको ओपीडी सेवा सुरु भएको छ । दोस्रो चरणको कोरोना भाइरसका कारण कम्तीमा पनि तीन महिनादेखि बन्द रहेको ओपीडी सेवा अहिले सङ्क्रमण दर घट्दै गएपछि सुरु गरिएको हो ।
अस्पतालले ओपीडी सेवा सञ्चालनमा ल्याएसँगै उपचारका लागि आउने बिरामीको भीड लागेको छ ।नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको अस्पतालको ओपीडी सेवा अहिले सङ्क्रमणको दरमा केही कमी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा ल्याइएको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिनुभयो ।जिल्लामा कोरोना सङ्क्रमित हुनेहरुको दर बढ्दै गएपछि गएको वैशाख महिनाबाट अस्पतालको ओपीडी सेवा बन्द भएको थियो । कोरोना सङ्क्रमित बढ्दै गएपछि उनीहरुको उपचारका लागि गरिएको थियो ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट कृष्ण जोशीले भन्नुभयो, ‘वैशाख, जेठ महिनामा कोरोना सङ्क्रमित निकै बढेका थिए, ओपीडी सञ्चालन गरे अन्यमा पनि कोरोना सर्न सक्ने अवस्था देखिएकाले बन्द गरेका थियौँ, अहिले परिस्थिति केही सहज भएपछि सञ्चालनमा ल्याएका छौँ ।’ जिल्लामा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ जनाको ज्यान गएको छ भने एक हजार २ सय जना सङ्क्रमित भएका छन् ।