विगत आठ वर्षदेखि खोरमा थुनिएका १२ वर्षीय बालकको उद्धार गरिएको छ । हिलिहाङ गाँउपालिका ६ किवाका भीमप्रसाद थोक्लिहाङका १२ वर्षीय नाति सुसनलाई खोरमुक्त गराएको हो ।
खोरमा थुनिएका सुसनको विषयमा अन्नपूर्ण पोस्टमा समाचार छापिएपछि उनको उद्धार भएको हो । राष्ट्रिय बाल अधिकार परिषद, बालहेल्पलाइन १०९८ अन्तर्गत मानवअधिकार मञ्च इलामले सुसनको उद्धार गरेको हो । सुसनलाई नेपाल अपाङ्गता संघ खगेन्द्र नवजीवन केन्द्र झापामा राखिने भएको छ । ‘खगेन्द्र नवजीवन केन्द्रले सुसनको हेरचाह गर्नेछ,’बाल हेल्पलाइन १०९८ इलामका प्रमुख भक्तबहादुर थामिले भने, ‘अन्नपूर्ण पोस्टमा समाचार आएपछि बालकको बारेमा जानकारी लिएर उद्धार गरेका हौँ ।’ दिर्घकालिन संरक्षण, हेरचार, आवश्यक उपचार र पुनस्र्थापनाका लागि सुसनको उद्धार गरिएको हो ।’नातीको उद्धार भएपछि हजुरआमा ललिताकुमारी थोक्लिहाङले खुसी व्यक्त गरेकी छिन् । ‘अब नाती ठिक भएर घर आउँछ भन्ने लागेको छ,’ललिताकुमारीले भनिन् ‘नातीको राम्रो हेरचाह गर्दिनुहोला ।’
यसकारण सुसनलाई खोरमा थुनिएको थियो
भीमप्रसादकी जेठी छोरी जुनिशाको कोखबाट सुसनको जन्म भएको थियो । १२ वर्षीय सुसनले अहिलेसम्म आफ्नो बुवा पाउन सकेका छैनन् । उनले बुवा चिन्न र: देख्न पनि पाएका छैनन्। अविवाहित हुँदै जुनिशाले सुसनलाई जन्माएकी थिइन् । सुसनकी हजुर आमा ललिता कुमारीका अनुसार सुभाङ निवासी छवि योङहाङसँगको शारीरिक सम्पर्कबाट जुनिशाले सुसनलाई जन्माएकी थिइन् ।‘नाती जन्मिएपछि छबियोङहाङलाई छोरी जिम्मा दिन खोजेका थियौँ,’ललिताकुमारीले भनिन् ‘छबिको घरमा जेठी श्रीमति भएकाले उनले छोरी र नातीलाई स्वीकार गर्न नमाने पछि नातीलाई हामीले नै राखेर हेरचाह गरिरहेका छौं । त्यसपछि उनी हाम्रो सम्पर्कमा छैनन् ।’
बच्चा र आमा जिम्मा दिन खोजेपछि छबि सम्पर्कबिहीन भएको उनीहरुको आरोप छ । सुसनकी आमा जुनीसाले पोखराका एक पुरुषसँग विवाह गरिसकेकी छिन् । त्यसपछि सुसनले मामली घरमा खोरमा थुनिएर दिन कटाइरहेका थिए । सुसनको स्वास्थ्यमा समस्या आएपछि उनी खोरमा थुनिएका थिए।सुसनका मामा जुरेर थोक्लिहाङकाअनुसार सानोमा: सुसन निकै तेजिला थिए । उनी बालविकास केन्द्रमा पढथे। ‘भाञ्जो एक दिन अचानक बिरामी भए,’ जुरेनले भने ‘बिरामी भएर ओछ्यान परेपछि भाञ्जो कहिल्यै उठेनन् ।’ बिरामी परेपछि सुसनको बोली हराएको र मानसिक सन्तुलन गुमेको परिवारको भनाइ छ । सुसन चार वर्षका हुँदादेखि बिरामी परेका थिए । ‘भाञ्जाको उ:पचारका लागि हामीले धेरै प्रयत्न गर्यौ,’ जुरेनले भने, ‘उपचार नलागेपछि भाञ्जालाई खोरमा राख्न बाध्य हु:नुपरेको हो ।’ सुसन अहिले कुजिन थालेका थिए । उनी राम्रोसँग हिँड्न पनि नसक्ने अवस्थामा छन् ।
सुसनलाई खोरभित्रै खान दिइन्थ्यो । उनी खोरभित्रै फोहोर मैला टिप्थे । हजुर आमा ललिताकुमारीले सुसनलाई कहिलेकाँही खुवाउने गर्थिन । ‘उसको बावुले पनि जिम्मा लिएन,’ललिताकुमारीले भनिन् ‘नातीको स्वास्थ्य विग्रिदै गएपछि चिन्ता पनि थपिदै गएको छ।’