सदरमुकाम बेँसीसहरका युवाले लमजुङ विद्युत् उपभोक्ता संस्थाको कार्यालयमा पुगेर ध्यानाकर्षणपत्र बुझाउँदै विद्युत् आपूर्ति नियमित गराउन माग गरेका छन् ।
बेँसीसहरस्थित त्रिवेणी युवा क्लब, लमजुङ मर्स्याङ्दी युवा क्लब, बेँसीसहर युथ सोसाइटी र आदर्श युवा क्लब बेँसीसहरमा आबद्ध युवाहरुले विद्युत कार्यालय पुगेर नियमित विद्युत आपूर्ति गर्न माग गरेका हुन्।लमजुङ जिल्ला जलस्रोतको धनी जिल्ला भनेर चिनिए पनि आफूहरूले सधैँ लोडसेडिङ भोग्नुपरेको भन्दै युवाले आक्रोस व्यक्त गरेका छन् । साथै युवाहरूले लमजुङ विद्युत् उपभोक्ता संस्थाले गुणस्तरीय सेवा दिन नसकेको भन्दै आरोपसमेत लगाएका छन् ।
यस्तै, प्याब्सन लमजुङका सचिव ज्ञानेन्द्र शर्माले अनियमित विद्युत्ले अनलाइन कक्षालाई समेत प्रभावित बनाएको बताए । उनले भने ‘नेपाल विद्युत् प्राधिकरण र नेपाल विद्युत् उपभोक्ताबीच समन्वय नहुँदा यस्तो समस्या आएको हो । जिल्लामा नियमित विद्युत् नआउँदा उपभोक्ता मारमा परेका छन् । स्थानीय आधा दर्जन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि दैनिक १५–२० पटक विद्युत् अवरुद्ध हुने उपभोक्ताको गुनासो छ ।यस्तो समस्या पछिल्लो दुई महिनादेखि अत्यधिक बढेको लमजुङ उद्याेग वाणिज्य संघ बेँसीसहर इकाका अध्यक्ष विपिन श्रेष्ठले बताए । कमजोर संरचना र विद्युत् वितरण निकायको लापर्बाहीका कारण उपभोक्ताले समस्या भोग्नुपरेको उनको भनाइ छ ।
लमजुङवासी मात्र नभई यो समस्याबाट तनहुँ साबिकका तीन गाविस रूपाकोट, चोक चिसापानी उपभोक्तासमेत प्रभावित छन् ।नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख यम कुमारी गुरुङले युवाको माग जायज भएको भन्दै के कारणले विद्युत अनियमित भएको हो पत्ता लगाएर विद्युत् आपूर्ति नियमित गराउने बताइन् ।यस्तै, लमजुङ विद्युत् उपभोक्ता संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेले विद्युत् संरचना पुराना भएको र भएका सरचना समेत विग्रेकाले समयमै मर्मत हुन नसक्दा समस्या आएको बताए ।
विद्युत् उपभोक्ता संस्थाले लमजुङ र तनहुँमा गरी २९ हजार ८ सयवटा घरधुरीमा विद्युत् सेवा दिँदै आएको छ । जिल्लामा ७० मेगावाट क्षमताको मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्द ए, खुदी, सिउरी, राधी, स्याँगे, छ्याङ्दी, मिदिमलगायतका साना आयोजनाबाट विद्युत् उत्पादन भइरहेका छन्र । जिल्लामा उत्पादित विद्युत् त्लाई उदिपुरस्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।