सर्वोच्च अदालतमा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पक्ष र विपक्ष रहेको दुईवटा मुद्दाको सुनुवाइ भइरहेको छ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो।जनमोर्चाले सांसद पदबाट थापालाई कारबाही गरेर हटाएकोमा सर्वोच्चले कारबाहीको निर्णय कार्यान्वयन नगर्नू भन्दै जेठ २३ गते अन्तरिम आदेश दिएको थियो।उक्त आदेश पुनरावलोकन गर्दै कारबाही थमौतीका लागि जनमोर्चाकी गण्डकी प्रदेशकी सचेतक पियारी थापाले जेठ २६ गते सर्वोच्चमा निवेदन दिएकी थिइन्। उक्त निवेदनसँगै थापा निवेदक रहेको मुद्दाको सुनुवाइ भइरहेको हो।
पार्टीले गैरकानूनी ढंगले सांसद पद खारेजी गर्दै कारबाही गरेको थापाको जिकिर छ। जनमोर्चाले उनलाई जेठ २८ गते पनि पार्टी संसदीय दलको ह्वीप उल्लङ्घन गरेको भन्दै पदबाट हटाएको छ।जनमोर्चाका अन्य दुई जना सांसदहरू खिमविक्रम शाही र पियारी थापा भने दलको निर्णयअनुसार कांग्रेससहितको गठबन्धनमा छन्। गठबन्धन अहिले गण्डकी प्रदेशको सत्तामा छ। तर, थापा भने पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पक्षमा छन्।
उनले जेठ २८ गते पार्टी निर्णयविपरीत तत्कालीन मुख्यमन्त्री गुरुङले प्रदेश संसदमा विश्वासको मत लिँदा तटस्थ बसेका थिए। सोही कारण उनी दोस्रो पटक कारबाहीमा परेका हुन्।