काठमाडाैं – पाँचथरकाे हिलिहाङ गाउँपालिका–१ मा रहेको अरुण भ्याली हाइड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाइपले लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मी सत्यवती गाउँपालिका–२ का २९ वर्षीय मोहन राहादी मगर रहेका छन्।
बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाइ भएको र ४ टन वजन भएको फलामको पाइप उठाउने क्रममा क्रेनको साङ्ली चुडिएर मगरको घाँटीमा पाइपले लागेकाे थियाे। पाइपले लागेकाे मगरकाे घटनास्थलमानै मृत्यु भएको थियो।
घटनाको जानकारी पाएलगतै गएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरकाे प्रहरी टोलीले क्रेन अपरेटर बारा सखुवाघाट गाउँपालिका–७ का २८ वर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिएकाे छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।