सुर्खेत – कर्णाली प्रदेश सरकारमा थपिएका कांग्रेसका दुई मन्त्रीले शपथ लिएका छन्। कर्णाली प्रदेशमा तेश्रो दलको रुपमा रहेको नेपाली कांग्रेसबाट सरकारमा थपिएका नयाँ दुई मन्त्रीले आज शपथ लिएका छन्।
उनीहरुलाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।नेकपा माओवादी केन्द्रसँग सत्ता साझेदार गर्दै कांग्रेसले सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बुढा क्षेत्री र उर्जा जलस्रोत मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठलाई सरकारमा पठाएको छ। दुवै जनाले संसदीय दलको बैठकमा भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउने प्रतिबद्धता जनाएका छन्।मन्त्री बनेका दुई सांसदलाई कांग्रेसले आर्थिक अनुशासन कायम गर्नुपर्ने, स्वच्छता, मितव्ययितता, शादा जीवनशैली अपनाउनु पर्ने विषय उल्लेख भएको आचारसंहितामा हस्ताक्षर गराएको हो।
सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइनेसमेत कांग्रेसले जनाएको छ। नयाँ दुई मन्त्री थपिएसँगै कर्णाली प्रदेश सरकारमा ८ जना मन्त्री भएका छन्।