काभ्रे – जिल्ला प्रशासन कार्यालय काभ्रेले निषेध आदेश जेठ ३१ गते राति १२ बजेसम्म लम्ब्याएको छ । कोरोना संक्रमण तीव्र गतिमा वृद्धि भएको भन्दै जिल्लाभर जारी आदेश चौथो पटक थप भएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।
वैशाख १९ गतेबाट २६ गते राति १२ बजेसम्मको लागि जारी निषेध आदेश पहिलोपटक जेठ २ गते राति १२ बजेसम्म र दोस्रो पटक जेठ १२ गते राति १२ सम्मको लागि थप गरिएको थियो । जेठ २२ गतेसम्म लम्बिएको तेस्रो पटकको आदेश शनिबार राति १२ बजेबाट सकिने भएकोले शुक्रबार सूचना जारी गरी प्रशासनले निषेध आदेशको अवधि बढाएको हो ।यसअघि सिल गर्ने निर्णय गरेका बनेपा, पनौती, नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना बमोजिम हुने उल्लेख गरेका छन् । धुलिखेल नगरपालिकाले जेठ २२ गतेसम्म सिल कायम राखेपनि जिल्ला प्रशासन कार्यालय काभ्रेको आदेश बमोजिम हुने उल्लेख गरेको छ । पाँचखाल नगरपालिकाले जेठ ८ गते दिउँसो २ बजेदेखि लागू हुनेगरी १५ दिनसम्म जारी गरेको निषेध आदेश जेठ २३ गतेसम्म कायम छ । बेथानचोक गाउँपालिकामा जेठ ३१ गतेसम्म निषेध आदेश जारी भएको छ । भुम्लु गाउँपालिकाले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै निषेध आदेश जारी गरेको छ । तेमाल, चौरीदेउराली, महाभारत, खानीखोला गाउँपालिकाले भने छुट्टै सूचना जारी गरेका छैनन् ।
शुक्रबारसम्म जिल्लामा संक्रिय संक्रमितको संख्या एक हजार ८ सय ६९ पुगेको छ । तीमध्ये सबैभन्दा धेरै पाँचखालमा ३ सय २०, धुलिखेलमा २ सय ९९, बनेपामा २ सय ५१, भुम्लुमा १ सय ८१ र पनौतीमा १ सय ६४ संक्रमित छन् । शुक्रवार ७२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।