लमजुङ – सदरमुकाम बेंसीसहरस्थित जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । प्लान्टबाट उत्पादित अक्सिजनलाई पाइपलाइनको माध्यमबाट सिधै बिरामीको बेडमा पुर्याइएको छ ।
एक साताअघि जडान गरिएको अक्सिजन प्लान्टले सोमबार रातिदेखि उत्पादन थालेको हो । उत्पादित अक्सिजनलाई पाइपलाइनमार्फत आईसीयू, आइसोलेसन, इमर्जेन्सी, अन्तरंग (वार्ड) र प्रसूति वार्डमा पठाइएको अस्पताल प्रशासक हेमन्त श्रेष्ठले बताए । उनका अनुसार अन्य ठाउँमा प्रयोगमा आए पनि आईसीयू भने बनिसकेको छैन ।‘पाइपलाइनलाई ८२ वटा बेडमा जोडेका छौं । अक्सिजन प्लान्ट भएपछि सिलिन्डरको आवश्यकता पर्दैन । तैपनि हामीले सिलिन्डरलाई पनि राखेका छौं’ उनले भने ।
प्लान्टले २४ घण्टामा १ सय ५० किलोका १५ वटा सिलिन्डर भरी अक्सिजन उत्पादन गर्छ । अस्पतालमा १ सय ५० केजीका ५० र सानो खालका ५ सिलिन्डर छन् । पाइपलाइन बाहिरका बिरामीलाई उक्त अक्सिजन प्रयोग गरिएको छ । अक्सिजन प्लान्ट बन्द भइहालेमा तत्काल पाइपमार्फत अक्सिजन प्रदान गर्न १२ वटा सिलिन्डर जडान गरी राखिएको छ ।