जिल्ला अस्पताल सिरहामा कोरोना संक्रमणको उपचार गराई रहेकालाई निःशुल्क भोजन वितरण सुरु गरिएको छ ।
स्थानीय समाजसेवीको अगुवाइमा जिल्ला अस्पताल सिरहामा उपचाररत संक्रमित, संक्रमितका कुरुवा र अस्पतालमा उपचाररत अन्य रोगीलाई निःशुल्क भोजन वितरण थालिएको छ । समाजसेवी सन्तोष अग्रवाल, सज्जन अग्रवाल र शम्भू अग्रवालले जिल्ला अस्पताल सिरहाका ४० जनालाई दैनिक विहान र बेलुकाको खाना, पानीको बन्दोबस्ती गरी वितरण सुरु गरेको जिल्ला अस्पताल सिरहाले जनाएको छ ।
जिल्लाभरीबाट कोरोना संक्रमितहरु उपचार गराउन आउने तर निषेधाज्ञा कारणले यहाँका होटलहरु बन्द हुँदा खानेकुराको लागि भौतारिनु पर्ने बाध्यता थियो । जिल्लाका टाढाटाढावाट आउने संक्रमितसँगै कुरुवालाई चाउचाउ, विस्कुटले भोक मेटाउनु पर्ने बाध्यता थियो । निःशुल्क रुपमा दुई छाक पौष्टिक आहार सहितको भोजन उपलब्ध भएपछि उपचाररत कोरोना संक्रमित कुरुवालाई अब त्यो झन्झटबाट मुक्त भएको जिल्ला अस्पताल सिरहाका मेसु डा नागेन्द्र प्रसाद यादवले बताए । प्रदेश सरकारले संक्रमित र कुरुवालाई खाना खुवाउन बन्दोबस्ती गर्न बजेट नदिएको, स्थानीय सरकारले पनि कुनै चासो नभएकोले भन्दै मेसु यादवले भने,‘अस्पतालवाट चिकित्सकीय सुविधा वाहेकका सुविधा दिन असमर्थ रहेको बेला दाता परिवारवाट निःशुल्क खानाको व्यवस्था भएको छ ।’
सबैभन्दा बढी समस्या कोरोना संक्रमित र उनको कुरुवालाई रहेकोले देखेपछि निःशुल्क भोजन गराउन सुरु गरेको सन्तोष अग्रवालले बताए । निषेधाज्ञा अवधिभर अस्पतालमा उपचाररत रोगी र उनको कुरुवालाई दैनिक विहान र बेलुका खाना, पानीको निःशुल्क व्यवस्था गरेको अग्रवालले बताए ।