वायु प्रदूषणका कारण बाक्लो तुवाँलो लाग्दा पोखराको हवाइ उडान पुनः प्रभावित भएको छ । वायु प्रदूषणले भिजिविलिटी नहुँदा झन्डै एकसाता अवरुद्ध रहेको उडान गत बिहीबारदेखि सुचारु भएपनि सोमबारदेखि पुनः प्रभावित भएको हो । अहिले पोखरा आकाश तुवाँलोले ढाकेको छ ।
सोमबार पोखराका लागि झण्डै तीन दर्जन उडान तालिका बनेपनि आकाशमा तुँवालो वढेर भिजिविलिटी नहुँदा दिउँसो मात्र काठमाडौंमा २ वटा र जोमसोमका लागि ७ वटा उडान भएको पोखरा विमानस्थलका प्रमुख विक्रम राज गौतमले जानकारी दिए । मंगलबार भने भिजिविलिटी नहुँदा कुनैपनि उडान हुन नसकेको प्रमुख गौतमले बताए । ‘मौसममा सुधार आउने प्रतिक्षामा छौं, उडानका लागि आवश्यक ५ किमी भिजिविलिटी नपुग्दा उडान गर्न सकिएको छैन’ उनले भने, ‘मौसममा सुधार आउनेबित्तिकै उडान सुचारु हुन्छ ।’
झन्डै एक साता अवरुद्ध भएका उडान गत विहीटारदेखि संचालनमा आएको भएपनि सोमबारदेखि फेरि मौसम बिग्रिएकाले उडान प्रभावित भएको गौतमको भनाइ छ । उनले आज मौसममा सुधार आउने सम्भावना कम देखिएको बताए । गौतमका अनुसार सोमबार समिट एयरका चार र तारा एयरका तीनवटा उडान जोमसोमका लागि भएका थिए । तर पोखरा–काठमाडौं रुटमा भने बुद्ध र यतिले एक–एकवटा मात्र उडान गरेका थिए । पोखराको मुख्य बजारबाट नजिकै रहेका सराङकोट, काहुँडाँडा, पुम्दीकोट लगायत डाँडाहरू तुवाँलोले देखिएका छैनन् । धुँवा र धुलोले भिजिविलिटी कम हुँदा पोखराबाट उडान हुन नसकेको पोखरा विमानस्थलले जनाएको छ।
देशभर ७ सय बढी जंगलमा लागेको डढेलो, किसानले बाली भित्र्याएर खेतबारी, खरबारी लगायतका ठाउँमा आगो लगाउने चलनले पनि प्रदूषण बढाएको बताइएको छ ।