लमजुङ – आधारभूत अस्पताल बनाउने विषयमा पूर्वी लमजुङको राइनास नगरपालिकामा भएको विवाद टुंगिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राइनासको धमिलीकुवा स्वास्थ्य चौकीलाई नै १५ शय्याको आधारभूत अस्पतालमा स्तरोन्नति गर्ने सरकारको निर्णय संशोधन तथा स्थान परिवर्तन गर्न नसकिने निर्णय सहितको पत्र नगरपालिकालाई पठाए सँगै विवाद टुंगिएको हो ।यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लमजुङका सात स्थानीय तहका स्वास्थ्य चौकी स्तरोन्नति गरी आधारभूत अस्पताल निर्माण गर्न बजेट विनियोजन गरेसँगै राइनासको धमिलीकुवा स्वास्थ्य चौकी स्तरोन्नती गरी १५ शय्याको आधारभूत अस्पताल बनाउन परिपत्र आएको थियो । तर सरकारले जारी गरेको परिपत्र र स्थानीय तहबीच आपसी समन्वय नहुँदा आधारभूत अस्पताल बनाउने विषयमा राइनासमा विवाद भएको थियो ।
विवादकै कारण गत मसिंर १५ गते राइनास नगरपालिकाका दुई स्थानमा अस्पताल शिलान्याससमेत भएको थियो । नगरप्रमुख सिंहबहादुर थापाको सहभागितामा राईनास–३, चक्रतिर्थमा अस्पताल शिलान्यास भएको थियोे भने मन्त्रालयको परिपत्रअनुसार वडा अध्यक्षको सहभागितामा राइनास–६, धमिलीकुवामा अस्पताल शिलान्यास भएको हो ।कार्यपालिका बैठकले नगरपालिका केन्द्रसमेत रहेको चक्रतीर्थ स्वास्थ्य चौकीलाई सिफारिस गरी सरकारको निर्णय संशोधन गर्न तथा स्थान परिर्वतनका लागि मन्त्रालयलाई परिपत्र गरेको थियो । अर्थ मन्त्रालयले भने चालू वर्षको स्वीकृत कार्यक्रमअनुसार तोकिएकै स्थानमा अस्पताल भवन निमार्ण गर्ने निणर्य गरेको छ ।
अस्पताल भवनको शिलन्यास एवं निमार्ण प्रक्रियासमेत सुरु भइसकेको अवस्थामा अस्पताल स्तरोन्नति कार्य संशोधन गर्दा वित्तीय अनुशासनमा समेत प्रश्न उठ्न सक्ने भन्दै सुरुमा तोकिएको तथा धमिलिकुवा स्वास्थ्यचौकीलाई आधारभूत अस्पतालका रूपमा स्तरोन्नित गर्न निर्णय गरेको हो । अर्थ मन्त्रालयको निर्णय अनुसार अस्पताल भवन निर्माण कार्य अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राइनास नगरपालिकालाई अनुरोधसमेत गरेको छ ।
राइनासको धमिलिकुवासहित जिल्लामा आधारभूत अस्पताल निर्माण गर्नका लगि करिब १७ करोड रुपैयाँ विनियोजन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाको ६ वटा स्थानीय तहमा १५ शय्या र एउटा स्थानीय तहमा १० शय्याको अस्पताल निर्माणका लागि १६ करोड ८७ लाख रुपैयाँ विनियोजन गरेको हो ।