काठमाडौं – म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टीका एक नेताको हिरासतमा मृत्यु भएको छ ।
आइतबार प्रहरीले यू खिन माउङ लट नाम गरेका नेताको शव परिवारलाई जिम्मा लगाएको हो । उनलाई शनिबार राति घरमा छापा मारी पक्राउ गरिएको थियो । प्रहरीले बेहोस भएका माउङ लटको मृत्यु भएको बताएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा अनुसार सार्वजनिक भएका फोटोमा ५८ वर्षीय नेताको टाउकोमा रगत लागेको कपडा देखिएको छ ।म्यानमारका प्रजातन्त्र पक्षधर नेताहरुले उनलाई प्रहरीले हिरासतमा लिँदै गर्दा कुटपिट र चरम यातना दिएको र त्यसैको कारण उनको मृत्यु भएको आरोप लगाएका छन् ।गत महिना म्यानमारको सेनाले प्रजातन्त्र पक्षधर नेताहरुलाई हिरासतमा लिँदै कू गरेको थियो । त्यसयता निरन्तर म्यानमारमा प्रजातन्त्र पुनर्बहालीको माग गर्दै आन्दोलन भइरहेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार म्यानमारमा सेनाको विरोधमा भइरहेको प्रदर्शनमा अहिलेसम्म ५० भन्दा धेरै मानिसहरु मारिइसकेका छन् ।